खानपानलगायत जीवनशैलीका कारण क्यान्सर रोग बढिरहेकोमा रोग लाग्नु अगावै सचेत बनाउने उद्देश्यले किवानिज क्लब निजगढले जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । सम्पन्न कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्रप्रसाद बरालले सबैभन्दा बढी फोक्सोको क्यान्सर देखिएकाले रोग लाग्नुअघि नै सचेत बन्न आग्रह गरे ।
सबैभन्दा बढी फोक्सो, दोस्रोमा स्तन र तेस्रोमा महिलाको पाठेघरको क्यान्सर देखिने गरेको उनको भनाई रहेको छ । “पाठेघरको मुखको क्यान्सर लाग्नुभन्दा १० वर्षअघि नै लक्षण देखिन्छ, नियमित परीक्षण गराई सचेत भए रोगबाट बच्न सकिन्छ, रोग लागेपछि धेरै खर्चिलो हुन्छ” बरालले भने ।
विश्वमा मृत्युको १३ प्रतिशत कारण क्यान्सर भएको, वार्षिक ४२ लाख मानिस क्यान्सर रोगले मर्ने र अहिलेसम्म १०० थरिका क्यान्सर रोगको पहिचान भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
कार्यक्रमका अध्यक्षता किवानिज क्लब निजगढका प्रेसिडेन्ट बिनोद भारतीले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि किवानिज ईन्टरनेशनलका हिमगिरी अध्यक्ष भरत ढुङेल रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढुङेलले कार्यक्रम उपलब्धिमुलक रहेको बताउँदै कार्यक्रमका किवानिज क्लब निजगढलाई धन्यवाद व्यक्त गरेका थियो । यस्तै क्लबका प्रेसिडेन्ट भारतीले आगामी दिनहरुमा निजगढमा विभिन्न स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले क्यान्सर रोगबाट बच्न नियमित स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा करिब २०० जना सहभागीहरुको उपस्थिति रहेको जनाइएको छ ।