बाराको पचरौता नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ६१ करोड ४१ लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १६औँ नगरसभामा कृषि, शिक्षा, खेलकुद, स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरिएको हो।
नगरसभामा उपप्रमुख नसिमा खातुनले बजेटको ब्याग वडा नम्बर ६ का वडा अध्यक्ष एवं नगर प्रवक्ता लक्ष्मीप्रसाद यादवलाई हस्तान्तरण गरेपछि अध्यक्ष यादवले बजेट प्रस्तुत गरेका थिए।



प्रस्तुत बजेटअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड १५ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ २१ करोड ८२ लाख रुपैयाँ, समपूरक अनुदान ५५ लाख रुपैयाँ, विशेष अनुदान १ करोड रुपैयाँ तथा राजस्व बाँडफाँडतर्फ १० करोड १८ लाख १० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ७६ लाख २१ हजार रुपैयाँ, सशर्त अनुदान ९५ लाख रुपैयाँ, विशेष अनुदान ३० लाख रुपैयाँ, समपूरक अनुदान २० लाख रुपैयाँ तथा राजस्व बाँडफाँडतर्फ ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
नगरपालिकाले आन्तरिक आयबाट ५ करोड रुपैयाँ, स्थानीय राजस्व बाँडफाँडबाट ३ करोड रुपैयाँ तथा बैंक मौज्दातबाट ६ करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरेको छ।
नगर प्रमुख जलन्धर सिंह जैसवारको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख खातुन, विभिन्न वडाका अध्यक्षहरू, नगर कार्यपालिका सदस्य, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत बसन्तराज जोशीले व्यक्त गरेका थिए।
नगरपालिकाले आगामी आर्थिक वर्षमा कृषि उत्पादन वृद्धि, शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य सेवा विस्तार, खेलकुद प्रवद्र्धन तथा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाएको छ।






