मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी गोविन्द थपलियाको आठ महिने कार्यकाल सम्पन्न भई सरुवा भएको छ। आफ्नो कार्यकालमा प्रहरी संगठनभित्र सुधार, सुशासन प्रवद्र्धन, सुरक्षा व्यवस्थापन सुदृढीकरण तथा नागरिकमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै विभिन्न सुधारात्मक कदमहरू अघि बढाएको भन्दै उनको कार्यकाललाई मधेश प्रदेश प्रहरीको सुधार अभियानसँग जोडेर हेरिएको छ।
डिआईजी थपलियाले आफ्नो कार्यकालको समीक्षा गर्दै पदमा कति समय बसियो भन्नेभन्दा पनि जिम्मेवारी सम्हाल्दा संगठन र समाजका लागि के योगदान गर्न सकियो भन्ने विषयलाई आफूले बढी महत्व दिएको बताएका छन। उनका अनुसार मधेश प्रदेशमा प्रहरी सेवाप्रतिको जनविश्वास अभिवृद्धि गर्न, प्रहरी प्रशासनलाई पारदर्शी बनाउन तथा संगठनभित्र देखिएका विकृति हटाउन विशेष पहल गरिएको थियो।



मधेश प्रदेश प्रहरीको नेतृत्व सम्हालेपछि उनले सर्वप्रथम वर्षौंदेखि विवादको विषय बन्दै आएको ‘घुमुवा प्रहरी’ प्रणालीलाई सुधार गर्ने अभियान सुरु गरेका थिए। प्रहरी संगठनभित्र काज तथा सरुवाको नाममा लामो समयदेखि एउटै क्षेत्रमा बस्दै आएका र विभिन्न विवादमा जोडिएका प्रहरी कर्मचारीहरूको भूमिका अध्ययन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताइन्छ।
प्राप्त जानकारीअनुसार उक्त अभियान अन्तर्गत जवानदेखि प्रहरी उपरीक्षक (एसपी) तहसम्मका करिब २५० जना प्रहरी कर्मचारीलाई जिम्मेवारीबाट हटाई विभिन्न जिल्ला तथा प्रदेश बाहिर सरुवा गरिएको थियो। मधेश प्रदेशमा लामो समयदेखि सक्रिय रहेका केही प्रहरी कर्मचारी तथा बिचौलिया समूहका लागि यो अभियान चुनौतीपूर्ण बनेको बताइन्छ।
डिआईजी थपलियाले प्रहरी संगठनभित्र बिचौलिया संस्कृतिको अन्त्य तथा व्यावसायिक प्रहरी सेवाको विकासलाई आफ्नो मुख्य लक्ष्य बनाएको उल्लेख गरेका छन। उनका अनुसार प्रहरी प्रशासनलाई प्रभावकारी, जवाफदेही र नागरिकप्रति उत्तरदायी बनाउन निरन्तर प्रयास गरिएको थियो।
यस अवधिमा उनको कार्यशैलीको समर्थन र आलोचना दुवै भएको देखिन्छ। सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत उनीमाथि विभिन्न आरोपहरू समेत लगाइएका थिए। यद्यपि डिआईजी थपलियाले ती आरोपहरूलाई सुधार अभियानविरुद्ध सक्रिय स्वार्थ समूहको प्रतिक्रिया भएको दाबी गरेका छन।
उनी भन्छन,‘मधेश प्रदेशमा घुमुवा प्रहरीको समस्या वर्षौंदेखि जरा गाडेर बसेको अवस्था थियो। त्यो एउटा कचमचिएको घाउजस्तै थियो। सुधारको प्रयास गर्दा केही प्रतिक्रिया आउनु स्वाभाविक हो। समाजले सत्य तथ्य र प्रमाणका आधारमा मूल्यांकन गर्नेछ भन्ने विश्वास छ।’
उनले कुनै पनि आरोपको मूल्यांकन प्रमाण र तथ्यका आधारमा हुनुपर्ने बताउँदै सामाजिक सञ्जालमा आउने हरेक विषयलाई अन्तिम सत्य मान्न नहुने धारणा व्यक्त गरेका छन। नागरिकले वास्तविकता बुझेर निष्पक्ष रूपमा मूल्यांकन गर्ने विश्वास आफूमा रहेको उनको भनाइ छ।
डिआईजी थपलियाका अनुसार मधेश प्रदेश प्रहरीभित्र सुधारको यात्रा अझै पूरा भइसकेको छैन। संगठनलाई थप व्यावसायिक, पारदर्शी र जनउत्तरदायी बनाउन आगामी दिनमा पनि निरन्तर प्रयास आवश्यक रहेको उनले बताएका छन।
मधेश प्रदेशको सुरक्षा व्यवस्थापन, संगठनात्मक सुधार तथा प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धिका क्षेत्रमा उनले थालेका कदमहरूको प्रभावबारे भने आगामी दिनमा थप मूल्यांकन हुने अपेक्षा गरिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा कार्यरत रहेका थपलियाको मधेश प्रदेशमा सरुवा भएको थियो भने मधेस प्रदेशबाट थपलियालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ। उनको स्थानमा मधेसमा डिआइजी ओम अधिकारीलाई मधेस प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ।






