बाराको निजगढ नगरपालिका–६ निवासी तथा नेकपा एमालेको लामो राजनीतिक यात्रा त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेकी यमकुमारी सापकोटा (सरिता)ले पार्टीभित्र देखिएको प्रवृत्तिप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेकी छन।
सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपाका नेता मनिष झालाई सम्बोधन गर्दै उनले नयाँ राजनीतिक संस्कृतिको अपेक्षासहित पार्टी प्रवेश गरेको भए पनि व्यवहारमा पुरानै राजनीतिक शैली दोहोरिएको अनुभूति भएको उल्लेख गरेकी छन।



सापकोटाले आफूले १५ वर्ष लामो नेकपा एमालेको विद्यार्थी राजनीति छाडेर मनिष झाको नेतृत्व, बौद्धिकता र दूरदृष्टिप्रतिको विश्वासका आधारमा रास्वपामा नयाँ राजनीतिक यात्रा सुरु गरेको बताएकी छन। उनले आफू मात्र नभई परिवर्तनको सपना बोकेका हजारौं युवाले पनि रास्वपाबाट गुट–उपगुट, नातावाद, कृपावाद र संरक्षणवाद अन्त्य हुने अपेक्षा गरेको उल्लेख गरेकी छन।
उनले पार्टीभित्र योग्यता, क्षमता, इमानदारी र योगदानको सम्मान हुने विश्वासका साथ राजनीतिक यात्रा थाले पनि अहिले त्यस्तो वातावरण महसुस गर्न नसकेको जनाएकी छन।
फेसबुकमा उनले लेखेकी छन,‘यहाँ पनि उही पुरानै प्रवृत्तिले निरन्तरता पाएजस्तो अनुभूति भयो। एक सक्षम, योग्य र सम्भावनाशील युवालाई पराजित गराउन चार जना माननीयहरूको गठबन्धन आवश्यक पर्ने अवस्था सिर्जना हुनु आफैंमा अत्यन्त दुःखद र चिन्ताजनक विषय हो।’
सापकोटाले प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरेको र संगठित सदस्य विस्तारका हिसाबले अग्रस्थानमा रहेको मधेश प्रदेशमै पार्टीका महामन्त्रीले पराजय भोग्नुपरेको घटनालाई सामान्य चुनावी परिणामका रूपमा मात्र लिन नहुने धारणा राखेकी छन। उनका अनुसार यसले संगठनभित्र गम्भीर आत्मसमीक्षाको आवश्यकता औंल्याएको छ।
उनले पार्टीभित्र निर्णय प्रक्रिया अन्ततः शक्ति–समीकरण, गुटगत स्वार्थ र संरक्षणवादकै आधारमा हुने हो भने नयाँ र पुरानो राजनीतिक संस्कृतिबीचको भिन्नता नै समाप्त हुने तर्क गरेकी छन।
सापकोटाले आफ्नो स्टाटसमार्फत प्रश्न गर्दै लेखेकी छन,‘यदि अन्ततः पुरानै प्रवृत्ति, शक्ति–समीकरण, गुटगत स्वार्थ र संरक्षणवादकै आधारमा निर्णय हुने हो भने नयाँ राजनीतिक अभियान र पुरानो राजनीतिक संस्कारबीच फरक के रह्यो? परिवर्तनको उद्घोष केवल भाषणमा सीमित हुने हो भने त्यसले युवाहरूको आशा र विश्वासलाई कसरी जोगाउन सक्छ?’
उनले राजनीति प्रतिस्पर्धाको क्षेत्र भए पनि प्रतिस्पर्धा निष्पक्ष, मूल्य–आधारित र मर्यादित हुनुपर्नेमा जोड दिएकी छन। योग्यतालाई गठबन्धनले पराजित गर्ने, योगदानलाई स्वार्थले ओझेलमा पार्ने तथा आशालाई निराशामा बदल्ने संस्कारले कुनै पनि राजनीतिक अभियानलाई बलियो बनाउन नसक्ने उनको भनाइ छ।
सापकोटाले नयाँ राजनीतिक संस्कृति निर्माण गर्न भाषणभन्दा पहिले सोच, शैली र व्यवहारमै परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै आफूहरू अझै पनि त्यही परिवर्तनको प्रतीक्षामा रहेको बताएकी छन।
उनको यो अभिव्यक्ति रास्वपाको हालै सम्पन्न पहिलो महाधिवेशनको निर्वाचन र त्यसपछिको राजनीतिक बहससँग जोडिएको रूपमा हेरिएको छ। सामाजिक सञ्जालमा उनको स्टाटसले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नेतृत्व शैली तथा नयाँ राजनीतिक संस्कृतिको अभ्यासबारे थप बहस सिर्जना गरेको छ।






