बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजन पौडेलले न्याय सम्पादनको काम हुने न्यायिक ईजलास कक्ष भत्काएर आफ्नो कार्यकक्ष बनाएका छन् । उपमहानगरपालिकाको दोस्रो तल्लामा रहेको न्यायिक समितिको ईजलास कक्ष भत्काएर पौडेलले आफ्नो कार्यकक्ष बनाएका हुन् ।

उपमहानगरपालिकामा रहेको नगर प्रमुखको कार्यकक्ष हुदाहुदै पौडेलले उक्त कक्षमा नबसेर ईजलास कक्ष हटाउदै उक्त कोठालाई आफ्नो कार्यकक्ष बनाएका हुन् । ईजलास भत्काएर तयार गरिएको कार्यकक्षमा सोमबार विहान पौडेलले पदभार ग्रहण गरेका थिए ।

नगर प्रमुख पौडेलले न्यायिक कक्षलाई आफ्नो कार्यकक्ष बनाएपछि ईजलासका फर्निचर चौथो तल्लामा रहेको सभाहलमा अलपत्र अवस्थामा राखिएको छ । नगर कार्यपालिकाको बैठकलगायत विभिन्न कार्यक्रम हुने हलको टेबल र कुर्सीमाथी ईजलास कक्षको फर्निचरलगायतका सामान राखिएको छ ।

नेपालको संविधान २०७२ धारा २१७ ले प्रत्येक स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्ष संयोजक हुने गरी न्यायिक समितिको व्यवस्था गरेको छ । न्यायिक समितिले नगर क्षेत्र भित्रबाट परेका उजुरी र विवादमा छलफल गरी न्याय सम्पादनको काम गर्ने गर्छ । जीतपुरसिमरामा पनि सोही अनुसार करिब आठ लाखको लागतमा न्यायिक ईजलास निर्माण गरी न्याय सम्पादनको काम हुदै आएको थियो ।

उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख सरस्वती देवी चौधरीले उपप्रमुखको कार्यकक्षसंगै रहेको कोठामा न्यायिक ईजलाश बनाएर न्याय सम्पादनको काम गर्दै आएकी थिईन् । न्यायिक समितिमा निर्वाचित नगर सभा सदस्यमध्ये दुई जना सदस्य, एक जना अधिवक्ता र कर्मचारी रहने गरेका छन् ।

न्यायिक समिति भत्काइएपछि तत्कालै न्याय सम्पादनको काम प्रभावित हुने देखिएको छ भने उपमहानगरपालिकाको एक मात्र सभाहलमा ईजलासको सामान राखिएपछि बैठक तथा कार्यक्रमका लागि हलको अभाव हुने भएको छ ।

आफ्नो कार्यकक्ष तयार गर्नुअघि पौडेलले ज्योतिससंग सल्लाह लिएको र ज्योतिसले ईजलास भएको कार्यकक्षनै उपयुक्त रहेको भन्दै सुझाएको बुझिएको छ । ज्योतिसको सल्लाहअनुसार नागरिकले प्रत्यक्ष सेवा प्राप्त गर्ने ईजलासनै भत्काएर पौडेलले कार्यकक्ष बनाएका हुन् ।

ईजलासलाई कार्यकक्ष बनाएका पौडेलले निवर्तमान उपप्रमुखको कक्षलाई वेटिङ रुम बनाएका छन् । उपप्रमुखको कार्यकक्षलाई वेटिङ रुम र ईजलास हटाएको विषयमा नवनिर्वाचित उपप्रमुख भोलाप्रसाद अधिकारी समेत जानकार थिएनन् । नगर प्रमुख पौडेलले ईजलास हटाउने विषयमा सामान्य छलफल समेत नगरेको नवनिर्वाचित उपप्रमुख अधिकारीले बताएका छन् ।

यता नगर प्रमुख पौडेलले भने निवर्तमान नगर प्रमुखको कोठामा घाम लाग्ने भएको कारण ईजलास कक्षलाई आफूले रोजेको प्रतिक्रिया दिएका छन् । नवनिर्वाचित नगर प्रमुख पौडेलले घाम लाग्छ भनेको उक्त कोठामा निवर्तमान नगर प्रमुख डा. कृष्ण पौडेलले पहिलो कार्यकाल विताएका थिए ।

उपप्रमुखको कार्यकक्षलाई नगर प्रमुखले वेटिङ रुम बनाएपछि उपप्रमुख अधिकारीले निवर्तमान नगर प्रमुखको कार्यकक्षमा पदभार ग्रहण गरेका थिए ।

पहिलाको न्यायिक इजलास

भत्काएर हलमा थुपारिएको न्यायिक इजलासका सामाग्री

ईजलास कक्ष भत्काएर बनाइएको नगर प्रमुखको कार्यकक्ष

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय