प्रेस काउन्सिल नेपालले साझेदारी डेली डटकमलाई प्रकाशित समाचारका विषयमा ३ दिनभित्र खण्डन तथा आफ्नो प्रतिक्रिया पेश गर्न निर्देशन दिएको छ।

प्रेस काउन्सिल नेपालले साझेदारी डेली डटकमलाई प्रकाशित एक समाचारमा उठाइएको ५० प्रतिशत कमिसनको आरोपसम्बन्धी आधार, कारण र प्रमाणसहित ३ दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको हो।

प्रेस काउन्सिल नेपालको अनुगमन शाखाले साउन २१ गते साझेदारी डेली डटकमका सम्पादकलाई पत्र पठाउँदै खण्डन सम्प्रेषण गरी जवाफ पेश गर्ने सम्बन्धमा विषयमा स्पष्टीकरण मागेको हो।

काउन्सिलमा मुकेशकुमार सिंहले दर्ता गराएको उजुरीका आधारमा उक्त समाचारको अनुगमन गरिएको पत्रमा उल्लेख छ। उजुरीमा साझेदारी डेली डटकमबाट प्रकाशित समाचार तथ्यहीन, भ्रामक, एकपक्षीय तथा पर्याप्त तथ्य पुष्टि नगरी प्रकाशन गरिएको दाबी गरिएको छ। उक्त सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष्ठा, सामाजिक छवि तथा संवैधानिक एवं कानुनी अधिकारमा गम्भीर असर र्पुयाएको भन्दै खण्डन तथा आवश्यक कारबाहीको माग गरिएको थियो।

के थियो समाचारमा ?

प्रेस काउन्सिलको पत्रमा उल्लेख भएअनुसार साझेदारी डेली डटकममा ५० प्रतिशत कमिसन नदिँदा पत्रिकाको बिल रोकियो ः पचरौता नगरपालिकामाथि गम्भीर आरोप, आठ महिनादेखि भुक्तानी नभएको दाबी शीर्षकमा समाचार प्रकाशित भएको थियो।

समाचारमा पचरौता नगरपालिकामा सूचना प्रकाशन गराएबापतको वैधानिक बिल आठ महिनासम्म भुक्तानी नगरिएको दाबी गरिएको थियो। साथै, नगरपालिकासँग सम्बन्धित व्यक्तिले कमिसन नदिएका कारण भुक्तानी रोकिएको र ५० प्रतिशत कमिसन माग गरिएको आरोप समाचारमा समेटिएको काउन्सिलको पत्रमा उल्लेख छ।

समाचारमा श्यामबाबु प्रसाद यादवले कमिसन नदिएका कारण भुक्तानी रोकिएको दाबी गरेको तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बेनौलीका लेखापाल मुकेश सिंहले पत्रिकाको बिल भुक्तानी गर्न ५० प्रतिशत कमिसन मागिएको आरोप लगाएको उल्लेख गरिएको काउन्सिलको पत्रमा जनाइएको छ।

काउन्सिलले यस्तो आरोप सत्य प्रमाणित भएमा सूचना प्रकाशन गराएबापतको वैधानिक बिलको भुक्तानी रोक्ने तथा कमिसन माग गर्ने विषयले सार्वजनिक प्रशासनको पारदर्शिता, सुशासन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाउने भन्दै समाचारमा त्यसको आधार तथा प्रमाण स्पष्ट हुनुपर्ने जनाएको छ।

एकपक्षीय सामग्री सम्प्रेषण भएको काउन्सिलको ठहर

प्रेस काउन्सिलले प्रारम्भिक अनुगमनका क्रममा समाचारमा सन्तुलितरहित किसिमबाट एकपक्षीय सामग्री सम्प्रेषण भएको देखिएको जनाएको छ।

काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमले सत्य, तथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने स्मरण गराउँदै पत्रकारिताको पेसागत मर्यादाविपरीत कसैलाई अनुचित लाभ वा हानि र्पुयाउने नियत राख्न नहुने उल्लेख गरेको छ।

त्यस्तै, सञ्चारमाध्यममा सम्प्रेषित सामग्री तथ्यहीन, भ्रामक वा असन्तुलित लागेमा सोबाट असर पर्ने व्यक्ति, समुदाय वा संस्थाले पठाएको खण्डन वा प्रतिक्रियालाई स्थान दिनुपर्ने पत्रकार आचारसंहिताको व्यवस्थाबारे पनि काउन्सिलले ध्यानाकर्षण गराएको छ।

तीन दिनभित्र प्रमाणसहित जवाफ दिन निर्देशन

काउन्सिलले उजुरीकर्ताबाट पेश भएको खण्डन एवं प्रतिक्रियालाई समेत स्थान दिई खण्डन सम्प्रेषण गर्न तथा त्यसबारे काउन्सिललाई जानकारी गराउन साझेदारी डेली डटकमलाई निर्देशन दिएको छ।

साथै, प्रकाशित समाचारमा तथ्यहीन, भ्रामक, एकपक्षीय तथा पर्याप्त तथ्य पुष्टि नगरी प्रकाशन गरिएको भन्ने उजुरीमा उल्लेखित विषय र समाचारमा विज्ञापनको बिलमा कमिसन नदिएपछि भुक्तानी रोकिएको भनिएको विषयमा के कसो भएको हो भन्ने तथ्यगत आधार, कारण र प्रमाणसहित जवाफ पेश गर्न काउन्सिलले भनेको छ।

प्रेस काउन्सिलको पत्रमा अनुगमन अधिकृत महेन्द्रराज सिंहको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय