प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अरबिन्द साह फराकिलो मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार साहले कुल ४० हजार ६ सय ९७ मत प्राप्त गर्दै स्पष्ट जित हासिल गरेका हुन्।

साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फरमुल्लाह मंसुरले १० हजार ५२ मत प्राप्त गरेका छन्। साहले मंसुरलाई ३० हजार ६ सय ४५ मतको भारी अन्तरले पराजित गरेका हुन्, जसलाई यस क्षेत्रको हालसम्मकै ठूलो मतान्तरमध्ये एक मानिएको छ।

अन्य प्रतिस्पर्धीमध्ये जनता समाजवादी पार्टी (जसपा)का रामवाबु कुमार यादवले ६ हजार ८ सय ४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार ज्वाला कुमारी साहले ५ हजार २ सय ७१ मत ल्याएकी छन्।

मतगणना प्रारम्भ भएदेखि नै अरबिन्द साहले लगातार अग्रता कायम राखेका थिए। प्रारम्भिक चरणदेखि नै उनले अन्य प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछाडि पार्दै अन्ततः सानदार जित सुनिश्चित गरेका हुन्।

यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि अन्तिम नतिजामा रास्वपाका साहले एकतर्फी जित हासिल गरेका छन्।

मतपरिणाम सार्वजनिक भएसँगै रास्वपाका नेता–कार्यकर्ता तथा समर्थकहरूले बारा-३ का विभिन्न स्थानमा खुशीयाली मनाएका छन्।

निर्वाचन जितपछि साहले मतदाताप्रति आभार व्यक्त गर्दै आफूलाई दिएको विश्वासलाई इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले बारा क्षेत्र नम्बर ३ को विकास, सुशासन र जनताको अपेक्षा पूरा गर्ने दिशामा काम गर्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय