प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत जिल्ला टिम छनोटका लागि आज आयोजित चयन खेलमा बारा रेड र बारा ब्लुबीच कडा प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा बारा ब्लुले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित दर्ता गर्न सफल भएको छ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको बारा रेडले निर्धारित ओभर पूरा गर्न नसक्दै ३१.३ ओभरमा सबै १० विकेट गुमाएर एक सय ५२ रन मात्र जोड्न सक्यो। बारा रेडका ब्याट्सम्यानहरूले सुरुवातमा केही प्रतिरोध गरे पनि बारा ब्लुका बलरहरूको अनुशासित र प्रभावकारी बलिङ अगाडि टिक्न सकेनन। नियमित अन्तरालमा विकेट खस्दा बारा रेड ठूलो स्कोरतर्फ जान असफल रह्यो।

एक सय ५३ रनको सामान्य लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको बारा ब्लुले सुरुदेखि नै आक्रामक ब्याटिङ प्रदर्शन र्गयो। प्रारम्भिक केही विकेट गुमे पनि लक्ष्य ठूलो नभएकाले बारा ब्लु दबाबमा परेन। विशेषगरी मधेश प्रदेशका यू–१६ उमेर समूहका प्रतिभावान खेलाडी सुशान्त सिंहले एकतर्फी रूपमा खेललाई नियन्त्रणमा लिए।

सुशान्त सिंहले मात्र ५१ बल खेल्दै १० छक्का र ६ चौकाको मद्दतले शानदार ९८ रन बनाए। उनको आक्रामक, आत्मविश्वासी र दर्शकलाई रोमाञ्चित बनाउने ब्याटिङकै कारण खेल एकतर्फी बन्न पुग्यो। सिंहले मैदानको चारैतिर आकर्षक सटहरू प्रहार गर्दै विपक्षी बलरहरूलाई दबाबमा पारे।

उनको उत्कृष्ट ब्याटिङ प्रदर्शनका कारण बारा ब्लुले मात्र १८.४ ओभरमै ७ विकेटको क्षतिमा लक्ष्य पूरा र्गयो। यस जितसँगै बारा ब्लुले प्रधानमन्त्री कपका लागि जिल्ला टिम छनोट प्रक्रियामा आफ्नो दाबी मजबुत बनाएको छ।

खेलपछि क्रिकेटप्रेमी दर्शकहरूले युवा खेलाडी सुशान्त सिंहको प्रदर्शनको खुलेर प्रशंसा गरेका छन। उनको यस खेलको प्रदर्शनले भविष्यमा मधेश प्रदेश तथा राष्ट्रिय स्तरमा समेत सम्भावना देखाएको खेल विश्लेषकहरूको धारणा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय