मोहित गुरुङको एकमात्र निर्णायक गोलको मद्दतमा आयोजक नवजनजागृति यूवा क्लब सिमराले जीतपूरसिमरा गोल्डकपको सेमी फाइनल यात्रा तय गरेको छ ।

हेटौंडाको टोली एन्फा मकवानपुरलाई अन्तिम समयमा स्तब्ध पार्ने क्रममा मोहितले खेलको ८५ औं मिनटमा गोल गरेका थिए । कर्नर एरियाबाट मोहितले हानेको लङ रेन्ज बलले सिधै जाली चुम्दा हेटौंडाका गोलरक्षक टोपबहादुर रानाले बचाउको कुनै अनुमान समेत गर्न सकेनन् ।

सिमरा रङ्गशालाको फ्लड लाईटमा उपस्थित करिब सातहजार दर्शकको समर्थन पाएको आयोजक सिमराले आकर्षक अवसरहरु बनाएपनि मकवानपुर विरुद्ध जित निकाल्न अन्तिमसम्मै संघर्ष गर्नुपर्याे।

पहिलो हाफमा मकवानपुरले आयोजक विरुद्ध शुरुवाती अग्रता बनाउने सुन्दर अवसर गुमाएको थियो । सामुएल सुनारले डिबक्स भित्रै बनाएको आकर्षक अवसरलाई गोलमा परिणत गर्न सकेनन् । उनको प्रहार फितलो बन्दा सिमराका गोल रक्षक युनेश चौधरीले बचाउ गरे ।

खेलको १६ औं मिनटमा मकवानपुरले अर्को अवसर गुमाएको थियो । अनिश महर्जनको क्रसमा अभिषेक लामाको हेडर सिमराका डिफेण्डर सिशस थापाले गोललाइनबाट क्लिएर गरे । खेलको १८ औं मिनटमा आयोजक सिमराका प्रज्वल थापा मगरको उत्कृष्ट प्रहार मकवानपुरका गोलरक्षक टोपबहादुर रानामगरले बचाए । साइरब तामाङ्गको क्रसमा प्रज्वलले डिबक्स भित्रबाटै सशक्त प्रहार गरेका थिए ।

खेलको ८० औं मिनटमा आयोजक सिमराले आकर्षक अवसर गुमाएको थियो । समिन ढकालको पासमा अभिषेक महतोको प्रहार क्रसबारमा लागेर बाहीरियो । डिबक्स भित्र समिनले निकालेको सुन्दर पासमा अभिषेकले सशक्त प्रहार गरेका थिए । खेलको ग्रिन इनर्जी म्यान अफ दि म्याच आयोजक सिमराका मोहित गुरुङ घोषित भए । उनले नगद १० हजार र ट्रफि प्राप्त गरे । उनलाई ओमनी मोटर्सका दिलिप हमाल र ग्रिन इनर्जीका शैलेश साहले ट्रफि प्रदान गरेका थिए ।

आइतबार साविक विजेता नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबविच प्रतिस्पर्धा हुनेछ । ८ टिम सहभागि प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय