दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न पहिलो चरणको खेलमा वडा नम्बर ९ को टिमले वाकओभर प्राप्त गरेको छ। प्रतियोगिताको निर्धारित समयमा वडा नंम्बर २ को टिम उपस्थित नभएपछि प्रतियोगिता व्यवस्थापन समितिले वडा ९ लाई वाकओभर दिएको जनाएको छ।
सोही दिन भएको दोस्रो चरणको खेलमा वडा ६ र वडा १० बीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा वडा १० ले उत्कृष्ट प्रदर्शन गर्दै २–० गोल अन्तरले विजय हासिल गरेको छ। वडा १० का जर्सी ७ का दावा वाईवाले खेलको १६औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफको चौथो मिनेटमा जर्सी ५ का रोहन सिंतानले थप गोल गर्दै टिमको जित सुनिश्चित गरे।



उत्कृष्ट प्रदर्शन गरेका वडा १० का दावा वाईवा म्यान अफ दि म्याच घोषित भए। उनलाई स्वर्गीय विकल रेग्मीकी आमा कमला रेग्मी, वडा का वडासदस्य कुमार मोक्तान तथा निजगढ नगर खेलकुद विकास समितिका सदस्य एवं प्रशिक्षक धनबहादुर लामाले संयुक्त रूपमा ट्रफी प्रदान गरेका थिए।
आजको खेलमा मुख्य रेफ्री लिलाम्बर चौधरी, सहायक रेफ्री रियाजुल स्लाम र राजु चौधरी तथा फोर्थ अफिसियल नीलकमल चौधरी रहेका थिए।
प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो खेल दिउँसो २ बजे र दोस्रो खेल दिउँसो ३ बजे शहीद हिरालाल रंगशालामा हुने आयोजकले जनाएको छ।






