मधेश प्रदेश नेत्रहीन क्रिकेट संघको आयोजनामा दृष्टिविहीन खेलाडीहरूका लागि तीन दिने क्रिकेट प्रशिक्षण कार्यक्रम बाराको निजगढ नगरपालिका–६ मा मंगलबारदेखि सुरु भएको छ।
प्रशिक्षण वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ। प्रशिक्षण सम्पन्न भएपछि मधेश प्रदेशको टोलीले वैशाख ४ देखि ८ गतेसम्म बागमती प्रदेशको चितवनमा आयोजना हुने राष्ट्रिय नेत्रहीन क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने तयारी गरेको छ।



संघका अनुसार प्रशिक्षण कार्यक्रम पृथ्वी लामाको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिलबहादुर लामाको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले आयोजक संस्था र सहयोगीहरूलाई धन्यवाद दिँदै समाजका पिछडिएका तथा विशेष आवश्यकता भएका व्यक्तिहरूलाई सहयोग गरेर मानवतालाई सुदृढ बनाउनुपर्ने बताए। उनले यस्ता कार्यक्रमले दृष्टिविहीन खेलाडीहरूको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
विशेष अतिथि रामकृष्ण घिमिरेले खेलकुदमार्फत प्रतिभा पहिचान र प्रवद्र्धन आवश्यक रहेको उल्लेख गर्दै आयोजक तथा सहयोगीहरूको प्रशंसा गरे। उनले कडा मेहनत र निरन्तरताबाट सफलता हासिल गर्न सकिने भन्दै सहभागी खेलाडीहरूलाई शुभकामना दिए।
कार्यक्रममा नगर खेलकुद विकास समितिका सदस्य निर्मल सापकोटा, सञ्चारकर्मी महेश्वर अधिकारी तथा साथी सहकार्य युवा क्लबका अध्यक्ष विपुल लामालगायतले दृष्टिविहीन खेलाडीहरूको प्रतिभा विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
संघका अध्यक्ष महेश साह कानुका अनुसार प्रशिक्षण अवधिभर सहभागीहरूलाई दृष्टिविहीन क्रिकेटसँग सम्बन्धित आवश्यक सीप, प्रविधि तथा खेल नियमबारे प्रशिक्षण दिइनेछ। यस्ता प्रशिक्षणले खेलाडीहरूको आत्मविश्वास र खेलस्तर सुधार गर्न मद्दत पुग्ने उनले बताए।
यसअघि पनि नेपालमा दृष्टिविहीन क्रिकेट विकासका लागि विभिन्न प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन हुँदै आएका छन, जसले खेलाडीहरूको सीप अभिवृद्धिमा योगदान र्पुयाउँदै आएको छ ।






