बागमती प्रदेश सभाको निर्माणाधीन भवन यही २७ साउनदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ ।
प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार उक्त दिन बस्ने प्रदेश सभाको बैठक नयाँ भवनमा आयोजना गरिने तयारी गरिएको छ ।



यसदिन बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।
उनका अनुसार सभा हलको भित्री सम्पूर्ण काम सकिएको छ भने माइक र जेनेरेटर जडानको अन्तिम तयारी भइरहेको छ । ‘माइक र जेनेरेटरको काम आइतबारसम्म सकिन्छ । त्यसपछि २७ गतेको बैठक नयाँ भवनबाटै सञ्चालन हुनेछ,’ पौडेलले भने ।
झण्डै साँढे ४ वर्ष अघि १० मंसिर २०७७ मा शिलान्यास गरिएको यो अस्थायी भवनको निर्माण कार्य बल्ल सकिएको हो । नयाँ भवन सञ्चालनमा आएपछि प्रदेश सभाको बैठक र कार्य सञ्चालनमा सहजता हुने सचिव पौडेलले बताए ।







