नेपाली काँग्रेसका संस्थापन पक्ष र इत्तर पक्षका युवा नेताहरुले सोमबार बत्तीसपुतलीमा सामुहिक बैठक गरे । बैठकमा उनीहरुले आ–आफ्नो राजनीतिक भविश्य र पार्टीको अवस्थाबारे चिन्ता प्रकट गरे । शेरबहादुर देउवा नेतृत्वको सरकारले राम्रो काम गरेन भने युवा नेताहरुको भविश्य बर्बाद हुने निश्कर्षसमेत उनीहरुले निकाले ।

१४ औं महाधिवेशनको नयाँ कार्यतालिका आएसँगै दुबै गुटका युवा नेताहरु एकै ठाउँमा जुटेर बैठक गर्नुलाई काँग्रेसभित्र अर्थपूर्णरुपमा हेरिएको छ । योबीचमा महाधिवेशनका सन्दर्भमा गुटगत भेला गर्दै आएका युवा नेताहरु सोमबार भने सामुहिक छलफलमा जुटेका हुन् ।
बत्तीसपुतलीस्थित अनुपम फुडल्याडमा आयोजित छलफलको संयोजन देउवा पक्षीय नेता एनपी साउद र पौडेल पक्षीय नेता चन्द्र भण्डारीले गरेका थिए ।
छलफलमा संस्थापन पक्षबाट एनपी साउद, भीष्मराज आङदेम्बे, महेन्द्र यादव, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, विश्वप्रकाश शर्मा,  श्याम घिमिरे र सीता गुरुङलगायत नेता सहभागी थिए ।
यस्तै संस्थापन इत्तर पक्षबाट गगन थापा, गुरुराज घिमिरे, दीपक गिरी, धनराज गुरुङ, रामकृष्ण यादव, प्रदीप पौडेल, बद्री पाण्डे, कल्याण गुरुङ, कमला पन्त, रत्ना शेरचन, किरण यादव, सरिता प्रसाईंलगायतको उपस्थिति थियो ।

छलफलपछि एनपी साउदले रातोपाटीसँग भने, ‘अब महाधिवेशनका लागि गाउँघर जानुपर्ने भयो । गाउँघर जानुअघि साथीहरु बसौं भनेर छलफल गरेका हौं ।’

उनका अनुसार  नयाँ कार्यतालिका अनुसार पार्टीको १४ औं महाधिवेशन कसरी सम्पन्न गर्ने भन्ने सन्दर्भमा छलफल केन्द्रित थियो । छलफलमा  पार्टीको क्रियाशील सदस्यताको विवाद सर्वसम्मत रुपमा कसरी समाधान गर्ने भन्ने विषयमा पनि छलफल भएको साउदले बताए ।

शनिबार सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले भदौ १८ गते वडा अधिवेशन सुरु गरेर आगामी मंसिर ९–१३ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठकले भदौ १६–१९ को कार्यतालिका संशोधन गर्दै मंसिर ९–१३ मा पुर्याएको छ । तर, केही जिल्लामा नयाँ क्रियाशील सदस्यता र समायोजनसम्बन्धी विवाद अझै टुंगिएको छैन ।

भदौ तीन गतेभित्र विवादित क्रियाशील सदस्यताका सन्दर्भमा सहमति जुटाएर सभापतिलाई बुझाउन नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी दिइएको छ । उनीहरुले आइतबारबाटै सहमति जुटाउने प्रयास थालेको बुझिएको छ ।

युवा नेताको चासो : नेतृत्व, नीति र मुद्दामाथि छलफल

सोमबारको छलफलमा सहभागी युवा नेताहरुले क्रियाशील सदस्यताको विवादले महाधिवेशनको नयाँ कार्यतालिका पनि प्रभावित हुने अवस्था आउन नदिन सजग हुनुपर्ने धारणा राखेका छन् ।

यस्तै १४ औं महाधिवेशनमा काँग्रेसलाई नीति, मुद्दा र कार्यक्रमबाट उर्भर बनाउनका लागि युवाको हस्तक्षेप हुनुपर्ने बैठकमा धारणा आएको छ । साउदले भने, ‘आगामी महाधिवेशनमा युवाहरुले आफ्नो आवाजलाई सशक्त किसिमले कसरी प्रस्तुत गर्न सकिन्छ, आगामी महाधिवेशन मुद्दा र नीति केन्द्रित रुपमा कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारेमा पनि छलफल भयो ।’

साउदका अनुसार १४ औं महाधिवेशनमा युवाहरुको उपस्थितिलाई कसरी व्यापक बनाउन सकिन्छ भन्नेबारे पनि छलफल भएको छ । युवाको उपस्थिति व्यापक बनाउन युवा नेताहरुले सामुहिक प्रयास गर्नुपर्नेमा नेताहरुको जोड थियो ।

बैठकमा नीति र मुद्दाबारे छलफल भए पनि व्यक्ति केन्द्रित कुराकानी भने नभएको साउदले बताए । उनले भने, ‘व्यक्ति केन्द्रीय कुरा केही भएन । नीति केन्द्रित कुराकानी भएको छ ।’

यस्तै नेता धनराज गुरुङले एकताका सात महाधिवेशन सम्पन्न गर्ने सन्देश दिन युवा नेताहरु छलफलमा जुटेको बताए ।

‘केन्द्रीय कमिटी बैठकले सर्वसम्म नयाँ कार्यतालिका ल्याएको छ । त्यसको कार्यान्वयन पनि सबैको साथ सहयोग पनि सम्भव छैन । हामी युवा नेताहरुले  एकताको सन्देश दिन छलफल गरेका हौं,’ उनी भन्छन् ।

साथै युवा नेताहरु नीतिभन्दा गुटमा रमाउनु गलत भएको भन्दै १४ औं महाधिवेशनमा फरक ढंगले प्रस्तुत हुनेबारे छलफल गरेको बताए ।

उनले भने, ‘हामीले अहिलेसम्म नीतिगत कुरा भन्दा गुटमा रमायौं । यो गलत भयो । आगामी महाधिवेशनमा फरक ढंगले प्रस्तुत हुन सक्नुपर्छ । त्यो आजको आवश्यकता भइसकेको छ ।’

त्यसमा छलफल गरौं भन्ने हो ।’ आजको छलफलमा नेतृत्वबारे छलफल नभएको गुरुङले पनि बताए ।

कम्युनिस्ट फुटबाट पाठ सिक्ने

नेता चन्द्र भण्डारी वर्तमान राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिबारे युवा नेताबीच छलफल भएको बताए । उनले रातोपाटीसँग भने, ‘पार्टी पार्टीबीचको सम्बन्ध राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा कसरी जोडेर लैजाने ? अहिले अफगानिस्तानमा भएको घटनाले विश्व राजनीतिमा के प्रभाव पर्छ ? नेपाललाई कसरी सुरक्षित गरेर कसरी लैजाने भन्ने विषयमा छलफल भएको छ ।’

पार्टी र देश बनाउने अवसर युवाहरुले गुमाउन नहुनेमा सबै नेताहरुको जोड रहेको भण्डारीको भनाइ छ । ‘तत्कालीन नेकपा र अहिले एमालेमा उत्पन्न संकट भोलि काँग्रेसमा पनि आउन सक्छ,’ उनले भने, ‘हामी कम्युनिस्ट पार्टीको नेतृत्वबाट सबैभन्दा बढी डराएका छौं । बुढा नेताहरु रिसाएर झगडा गरेपछि पार्टी नै दुई फ्याक हुँदोरहेछ । युवा नेताहरुको भूमिका केही काम लाग्दो रहेनछ ।’

दुई नेताको लडाइबाट कम्युनिस्ट पार्टीमा आएको फुटबाट काँग्रेस नेताहरुले सिक्नुपर्ने भण्डारीको भनाइ छ । उनले भने, ‘कम्युनिस्ट पार्टीका युवा साथीहरुले बेलैमा केपी ओली र प्रचण्डलाई नियन्त्रण गर्न सकेको भए अहिलेको अवस्था आउने थिए । हामीले त्यसबाट पाठ सिक्नुपर्छ । हामी पार्टीभित्र कसैको गोटी बन्नुभन्दा पार्टीलाई मध्यमार्गी धारबाट मिलाएर लैजानुपर्छ ।’

यस विषयमा आफूहरुल खुलस्त छलफल गरेको भण्डारीले बताए ।

सरकारलाई सजग गराउँदै सहयोग गर्ने

छलफलमा काँग्रेस नेतृत्वको सरकारलाई प्रभावकारी बनाउने विषयमा पनि नेताहरुले धारणा राखिरहेका थिए । बैठकमा सहभागी धनराज गुरुङले भने, ‘यो सरकारले राम्रो काम गरेन भने हामी बर्बाद हुन्छौं । हामी सरकारलाई सही सुझाव र दबाव दिइराख्नुपर्छ । सजग गराउनुपर्छ ।’

असार २९ गते काँग्रेस सभापति देउवाले सरकारको नेतृत्व सम्हालिराखेका छन् । प्रधानमन्त्री देउवालाई जनपक्षीय निर्णयका लागि आफूहरुले साथ सहयोग दिनुपर्ने युवा नेताहरुको भनाइ छ ।

सोमबारको बैठक मंगलबार पुनः बस्ने गरी सकिएको छ । भोलि दिउँसो २ बजे फेरि बैठक बस्ने साउदले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय