प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा जिल्लामा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारहरूको जमानत जफत भएको छ। कुल उम्मेदवारमध्ये करिब ९० प्रतिशतले आवश्यक मत प्राप्त गर्न नसक्दा धरौटी गुमाएका छन।

जिल्ला निर्वाचन कार्यालयका अनुसार बाराका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा गरी कुल १ सय १० उम्मेदवारमध्ये ९९ जनाले कुल सदर मतको १० प्रतिशत मतसमेत प्राप्त गर्न नसक्दा जमानत जफत भएको हो। निर्वाचन ऐन अनुसार कुनै पनि उम्मेदवारले कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसके धरौटी जफत हुने व्यवस्था छ।

यसपटक स्वतन्त्र उम्मेदवार मात्र होइन, कांग्रेस, एमाले, नेकपा, जसपा नेपाल, जनमत पार्टी र आम जनता पार्टीजस्ता स्थापित दलका उम्मेदवारहरू समेत जमानत जोगाउन असफल भएका छन। जमानत गुमाउनेमध्ये क्षेत्र नम्बर ३ की उम्मेदवार तथा पूर्व मन्त्री ज्वाला कुमारी साह समेत परेकी छन। उनीसँगै पूर्व सांसद, संविधानसभा सदस्य तथा विभिन्न ठूला दलका प्रभावशाली उम्मेदवारहरूले समेत न्यून मत समेत प्राप्त गर्न सकेनन्।

बारा–१ मा २० उम्मेदवारमध्ये १७ जनाको जमानत जफत भएको छ। जफत हुनेमा नेपाल कम्युनिष्ट पार्टीका सन्तोष दंगाल, जनता समाजवादी पार्टी नेपालका रामबाबु प्रसाद यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद साह कलवार, उज्यालो पार्टी नेपालका अनवर अंसारी, जनमत पार्टीका करुल्लाह अंसारी, श्रम संस्कृति पार्टीका भुलावन कुमार पासवान र आम जनता पार्टीका विजय यादव लगायत रहेका छन।

त्यसैगरी बारा–२ मा २९ उम्मेदवारमध्ये २६ जनाले धरौटी जोगाउन सकेनन। जफत हुनेमा नेकपा एमालेका बलवीर प्रसाद चौधरी, संविधानसभा सदस्य शिवचन्द्र प्रसाद कुशवाहा, नेपाल कम्युनिष्ट पार्टीका रमेश प्रसाद यादव, जनमत पार्टीका राजेश साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबाबु प्रसाद साह तेली, उज्यालो पार्टी नेपालका मेघराज पासवान, जन अधिकार पार्टीका अमरेश कुमार पाण्डे सहित अन्य उम्मेदवार रहेका छन।

बारा–३ मा २४ उम्मेदवारमध्ये २२ जनाको जमानत जफत भएको छ। यहाँ पूर्व मन्त्री ज्वाला कुमारी साह, संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्व सांसद रामबाबु कुमार यादव लगायतका उम्मेदवारहरूले आवश्यक मत ल्याउन सकेनन्।

त्यसैगरी बारा–४ मा ३७ उम्मेदवारमध्ये ३४ जनाको जमानत जफत भएको छ। जफत हुनेमा नेपाली कांग्रेसका श्यामबाबु गुप्ता, राष्ट्र निर्माण दल नेपालका उम्मेदवार तथा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अंसारी, राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायतका उम्मेदवार रहेका छन।

यसैबीच बाराका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन। बारा–१ मा गणेश धिमाल ३९ हजार ९ सय ९८ मत सहित निर्वाचित भए भने बारा–२ मा चन्दन कुमार सिंह ३५ हजार ५ सय ९० मत सहित विजयी भएका छन। यता बारा–३ मा अरविन्द साह ४० हजार ६ सय ९७ मत प्राप्त गरी निर्वाचित भए भने बारा–४ मा रहवर अंसारी ४१ हजार २ सय मत सहित विजयी भएका छन।

मधेशमा विशेषगरी रास्वपातर्फ मतदाताको आकर्षण बढेपछि मधेस केन्द्रित दल तथा परम्परागत राजनीतिक शक्तिहरूको मधेशमा कमजोर देखिएका हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय