बारा । नेपाली तथा तामाङ्ग चलचित्रकी नायिका रोशनी ब्लोनले बाराको निजगढ सिगौंलस्थित बनस्थली गाउँका गरिव तथा असाहय परिवारका १ सय ५० जना महिला र पुरुषलाई न्यानो पछ्यौैरी वितरण गरेकी छन । निजगढ नगरपालिका वडा नम्बर १ बनस्थली टोल घर भएकी नायिका ब्लोनले स्थानीय गरिव र विपन्न परिवारका ३५ पुरुषसहित १ सय ५० जनालाई आफ्नै घरमा बोलाएर ओडने पछ्यौरी वितरण गरेकी हुन ।
सिगौंल घर भएकी नायिका ब्लोन हाल काठमाण्डौंमा बसेर चलचित्र क्षेत्रमा सक्रिय छिन । पकेट खर्चको रकम जोगाएर गरिव तथा विपन्न परिवारलाई राहत स्वरुप पछ्यौरी सहयोग गरेको उनले बताईन । ‘पकेट खर्चबाट दैनिक १ सय रुपैया जोगाएर राखेको थिए, नायिका ब्लोनले भनिन, त्यही वर्षभरिको जम्मा भएको रकम खर्चेर किनेको पछ्यौरी गाउँका आमाबुबालाई दिएकी छु ।’
ब्लोनले ‘द मङ्गोलिन हर्ट’, ‘द कलेज’ लगायत दर्जनौं नेपाली र तामाङ्ग भाषाका चलचित्रका साथै २ दर्जनभन्दा बढी म्याजिक भिडियोमा अभिनय गरि सकेकी छिन ।
नायिका ब्लोनले यसअघि पनि स्थानीय बालबालिकालाई पनि स्टेशनरी, विद्यालय पोशाकलगायतका सामग्री सहयोग गर्दै आएकी थिईन ।