बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालय परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सिम्रौनगढ नगरपालिका नगर प्रमुख किशोरी साह कलवार र पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह जैसवारले सयुक्त रुपमा उद्घाटन गरेका छन। बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरिएको उक्त भवनबाट घरेलु हिंसा, लैङ्गिक हिंसा, बालअधिकार उल्लङ्घन तथा ज्येष्ठ नागरिकसम्बन्धी मुद्दाका पीडितलाई सहज, गोप्य र प्रभावकारी सेवा उपलब्ध गराइने अपेक्षा गरिएको छ।
उद्घाटनपछि प्रहरी महानिरीक्षक कार्कीले भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपणसमेत गरेका थिए। कार्यक्रममा भवन निर्माणमा सहयोग र्पुयाउने विभिन्न व्यक्ति तथा संस्थालाई प्रशंसापत्र प्रदान गरिएको थियो।



कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले बेलायत सरकारले विभिन्न परियोजनामार्फत नेपाल प्रहरीको क्षमता विकास, पूर्वाधार निर्माण, तालिम तथा समुदायसँगको सहकार्य विस्तारमा महत्वपूर्ण सहयोग गर्दै आएको बताए। उनले नवनिर्मित भवन समयमै सम्पन्न गर्न सहयोग र्पुयाउने सम्पूर्ण पक्षप्रति कृतज्ञता व्यक्त गरे।
उनले नयाँ भवन केवल भौतिक संरचना मात्र नभई प्रहरी र नागरिकबीचको विश्वासको प्रतीक भएको उल्लेख गर्दै यसले नागरिकमैत्री सेवा प्रवाहलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार र मर्यादा संरक्षणमा केन्द्रले प्रभावकारी भूमिका खेल्ने उनको भनाइ थियो।
प्रहरी महानिरीक्षक कार्कीले सेवा केन्द्र सञ्चालनसँगै पीडितमैत्री वातावरणमा सेवा प्रवाह हुने उल्लेख गर्दै पीडा र अन्यायमा परेका नागरिकको गुनासो सम्बोधनमा केन्द्र सक्षम हुने बताए। उनले प्रहरी कर्मचारीलाई नागरिकको समस्याप्रति थप संवेदनशील बन्न तथा बोली, व्यवहार र कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याएर प्रभावकारी सेवा दिन निर्देशनसमेत दिए।
कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलियाले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए। मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक थपलियाले अपराध नियन्त्रण र फैसला कार्यान्वयनमा मधेश प्रदेश प्रहरीको सक्रियताले उल्लेख्य उपलब्धि हासिल गरेको बताए। मधेश प्रदेश प्रहरी प्रमुख थपलियाले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने सवालमा शून्य सहनशीलता अपनाएका र आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउँदै लगिने जानकारी दिए। उनले प्रहरी नागरिकको सुरक्षाका लागि चौबिसै घण्टा उच्च सतर्कताका साथ खटिएको उल्लेख गरे।
कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले शुभकामना मन्तव्य राखेका थिए। त्यसैगरी, युएनओपिएसका वरिष्ठ सल्लाहकार तथा अवकाशप्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने पूर्वाधार प्रबन्धक शिशिर उपाध्यायले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।
विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालयको आर्थिक सहयोगमा संयुक्त राष्ट्र परियोजना सेवा कार्यालय (युएनओपिएस) मार्फत कार्यान्वयन गरिएको उक्त भवन ३ करोड ५१ लाख ४ सय रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो।
सेवा केन्द्र सञ्चालनमा आएसँगै घरेलु हिंसा, लैङ्गिक हिंसा, बालअधिकार उल्लङ्घन तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित घटनाका पीडितलाई एकद्वार प्रणालीमार्फत मनोसामाजिक सहयोग, परामर्श तथा कानुनी सहजीकरणसहितको सेवा उपलब्ध गराइने विश्वास लिइएको छ।
उद्घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका पदाधिकारी, समाजसेवी, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।







