काठमाडौंको तौलुङस्थित बुढानीलकण्ठ नगरपालिका वडा नं. १ ले अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन प्रणाली ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र प्राप्त गर्दै स्थानीय तहको सेवा प्रवाह र सुशासनमा नयाँ उदाहरण प्रस्तुत गरेको छ। सेवा प्रणाली सुधार, पारदर्शी प्रशासन र नागरिकमैत्री कार्यशैलीका आधारमा वडाले उक्त अन्तर्राष्ट्रिय मान्यता हासिल गरेको हो।

वडालाई अस्ट्रियास्थित प्रतिष्ठित प्रमाणीकरण संस्था क्वालिटी अस्ट्रिया सर्टिफिकेसन जीएमबिएचले प्रमाणित गरेको हो भने उक्त प्रमाणपत्रलाई आइक्युनेटले समेत मान्यता दिएको छ। आइक्युनेट सञ्जालमा विश्वका ३८ भन्दा बढी देशका प्रमाणीकरण संस्थाहरू आबद्ध रहेका छन्, जसका कारण यो प्रमाणपत्र अन्तर्राष्ट्रिय रूपमा मान्य हुने बताइएको छ।

उक्त प्रमाणपत्र हस्तान्तरण कार्यक्रम बिहीबार बिहान वडा कार्यालय परिसरमा आयोजना गरिएको थियो। कार्यक्रममा बागमती प्रदेश सरकारका श्रम तथा रोजगार मन्त्री जयराम थापा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा बोल्दै मन्त्री थापाले बुढानीलकण्ठ–१ ले हासिल गरेको उपलब्धिलाई स्थानीय सरकारको क्षमता, प्रतिबद्धता र सुशासनको उत्कृष्ट नमुनाका रूपमा व्याख्या गरे। “स्थानीय तहले चाहेमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा दिन सक्छ भन्ने उदाहरण बुढानीलकण्ठ–१ ले प्रस्तुत गरेको छ,” उनले भने।

कार्यक्रममा मिठाराम अधिकारीले नागरिकको विश्वास जित्नु सरकारको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै आईएसओ प्रमाणपत्र त्यही विश्वासको प्रतिफल भएको बताए। “जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य, पारदर्शिता र उत्तरदायित्वले यो सफलता सम्भव भएको हो,” उनले भने।

उपप्रमुख अनिता लामले वडाको सेवा प्रणालीलाई थप प्रभावकारी, छिटो र प्रविधिमैत्री बनाउने लक्ष्यसहित काम भइरहेको बताइन्। प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले कर्मचारीहरूको निरन्तर मेहनत, अभिलेख व्यवस्थापन सुधार, कार्यप्रवाहको मापन तथा नागरिक गुनासो व्यवस्थापन प्रणालीलाई सुदृढ बनाइएको कारण यो उपलब्धि हासिल भएको बताए।

पछिल्लो समय बुढानीलकण्ठ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बर्तौलाको आगमनसँगै विकास निर्माणका कामदेखि प्रशासनिक व्यवस्थापनसम्म सकारात्मक परिवर्तन देखिन थालेको स्थानीय तहका अधिकारीहरू बताउँछन्। नगरपालिकाले सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउन प्रशासनिक प्रक्रियामा सुधार गर्दै प्रविधिमैत्री कार्यशैलीलाई प्राथमिकतामा राखेको जनाएको छ।

विशेषगरी सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले डिजिटल प्रणालीको प्रयोग विस्तार गरिएको छ भने प्रशासनिक संयन्त्रलाई थप चुस्त र परिणाममुखी बनाउने प्रयास तीव्र पारिएको नगरपालिकाको दाबी छ। नागरिक केन्द्रित सेवा प्रवाहको अवधारणा अनुसार कार्यसम्पादनलाई प्रभावकारी बनाउँदै संस्थागत सुधारका काम अघि बढाइएको बताइएको छ।

वडाका अनुसार प्रमाणपत्र सन् २०२५ अप्रिल २४ देखि लागू भई सन् २०२९ अप्रिल २३ सम्म मान्य रहनेछ। एटी–३४४८८/० नम्बरमा जारी गरिएको प्रमाणपत्रले वडा कार्यालयको प्रशासनिक प्रक्रिया, सेवा प्रवाह, कागजात व्यवस्थापन, अभिलेखीकरण तथा नागरिक सन्तुष्टि प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको पुष्टि गरेको छ।

आईएसओ ९००१ः२०१५ विश्वव्यापी रूपमा सबैभन्दा बढी प्रयोग हुने गुणस्तर व्यवस्थापन प्रणाली हो। यसले संस्थाको कार्यसम्पादन, पारदर्शिता, सेवाको निरन्तर सुधार र सेवाग्राही सन्तुष्टिलाई मुख्य आधार मान्छ। वडा कार्यालयले विकास योजना सञ्चालन, सार्वजनिक सेवा प्रवाह, सिफारिस, दर्ता, राजस्व संकलन, सामाजिक सुरक्षा वितरण तथा सार्वजनिक हितसँग सम्बन्धित सम्पूर्ण कार्यलाई व्यवस्थित ढंगले सञ्चालन गरेको मूल्यांकनपछि यो प्रमाणपत्र प्राप्त गरेको जनाएको छ।

स्थानीय तहमा यस्तो अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गर्नु नेपालमा अझै दुर्लभ मानिन्छ। विज्ञहरूका अनुसार यसले अन्य स्थानीय तहलाई पनि संस्थागत सुधार, सेवा गुणस्तर र सुशासनतर्फ प्रेरित गर्नेछ। पछिल्लो समय स्थानीय सरकारप्रति बढ्दै गएको नागरिक असन्तुष्टिबीच बुढानीलकण्ठ–१ को यो उपलब्धिलाई सकारात्मक सन्देशका रूपमा हेरिएको छ।

वडा कार्यालयले आगामी दिनमा डिजिटल सेवा विस्तार, सेवाप्रवाहको समयसीमा निर्धारण, कर्मचारी क्षमता अभिवृद्धि तथा नागरिक सहभागिता बढाउने कार्यक्रमलाई थप प्राथमिकता दिने जनाएको छ। वडाका जनप्रतिनिधिहरूले “सुशासन सम्भव छ” भन्ने सन्देश व्यवहारबाटै स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय