बाराको सिमरामा उद्योगी तथा व्यवसायीबीच समसामयिक आर्थिक विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ। जीतपुरसिमरा उद्योग वाणिज्य संघको आयोजनामा सिमरास्थित होटल क्लासिक प्लाजामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित महासंघका पदाधिकारी, कोशी प्रदेश र मधेश प्रदेशका विभिन्न उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागितामा छलफल कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन लामिछाने शर्माले देशको आर्थिक विकास र समृद्धिका लागि सरकारी निकाय र निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको बताए। उनले निजी क्षेत्रको सक्रिय सहभागिता बिना देशलाई आर्थिक रूपमा सफल बनाउन नसकिने उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिए।



उनले नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचन नजिकिँदै गएको उल्लेख गर्दै सम्भव भएसम्म सर्वसम्मत कार्यसमिति गठन गर्नुपर्ने धारणा राखे। उद्योगी–व्यवसायीहरूबीच एकता कायम गर्दै महासंघलाई अझ सशक्त बनाउन आवश्यक सुझाव र सहयोग दिन जीतपुरसिमरा उद्योग वाणिज्य संघ सदैव तयार रहेको पनि उनले बताए।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले मुलुकको आर्थिक विकासका लागि स्टार्टअप र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताए। उनले स्टार्टअप तथा नवप्रवर्तन प्रवर्द्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलता विकास कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। निजी क्षेत्रको सहभागिता र सहकार्यलाई अझ तीव्र बनाउँदै आर्थिक गतिविधि विस्तार गर्न महासंघले पहल गरिरहेको पनि उनले बताए।
अध्यक्ष ढकालले महासंघको आगामी कार्यसमिति सर्वसम्मत रूपमा गठन गर्ने प्रयास भइरहेको जानकारी दिँदै उद्योगी–व्यवसायीबीच सहमति र सहकार्य कायम राख्न सबै पक्षलाई आह्वान गरे।
छलफल कार्यक्रममा महासंघका केन्द्रीय सदस्यहरू उमेश दलमिया, प्रयास कार्कि र डा. सुबेध गुप्ता, कोशी प्रदेशका पूर्व अध्यक्ष टिकाराज ढकाल, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम, निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रनाथ गोपाली, जीतपुरसिमरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सञ्जयकुमार साह, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, उदयपुर कटारि उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष पुस्कर खडका लगायत विभिन्न उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीहरूले मुलुकको आर्थिक गतिविधि सुदृढ बनाउन निजी क्षेत्रको भूमिका अझ प्रभावकारी बनाउनु आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।







