बाराको निजगढ–पथलैया सडकखण्ड अन्तर्गत पसाहा खोलानजिक सोमबार बिहान हात्तीको आक्रमणमा परी एक जनाको ज्यान गएको छ। मृत्यु हुने व्यक्ति ट्रक चालक वा सहचालक रहेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। घटनास्थलमा तत्काल उद्धार कार्यका लागि प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी तथा निकुञ्जमा तैनाथ नेपाली सेनाको टोली खटिएको छ।

आईतबार रातिदेखि तथा जितपुर सिमरा उपमहानगरपालिका–१६ एगारकिलो क्षेत्रमा हात्तीको झुण्ड देखिएको थियो। प्रहरीका अनुसार राति करिब ११ः४५ बजेतिर हात्तीको समूह पूर्व–पश्चिम राजमार्गमा पसाहा खोलानजिक देखिएपछि सडकमा गुडिरहेका सवारीसाधनहरू एकाएक रोकिएका थिए। सो समयमा हात्तीले सडकमा रहेका केही सवारीसाधनमा आक्रमण गरेको र यात्रुहरू डरले सवारीमै लुकिरहेका थिए।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेको कमाण्डमा रहेको प्रहरी टोली तथा नेपाली सेनाका जमदार शेर बुढाको नेतृत्वमा रहेको दश जनाको सैन्य टोली घटनास्थलमा पुगेको थियो। टोलीले राति नै हात्तीलाई जंगलतर्फ फर्काउन प्रयास गरे पनि हात्ती पुनः सडकमा फर्किँदै आतंक मच्चाएको प्रहरीले जनाएको छ।

हात्तीले आक्रमण गर्दा दुईवटा सवारीसाधन राजमार्गको छेउमा पल्टिएका छन। तीमध्ये डब्ल्यू बी ७३ जी ९५८७ नम्बरको भारतीय माइक्रोबस र बा २ च ७९२८ नम्बरको पिकअप गाडी क्षतिग्रस्त भएका छन। साथै अन्य एक दर्जन बढी गाडीका सिसा फुटेका छन। प्रहरीका अनुसार ती सवारीसाधनहरूमा रहेका यात्रुहरूलाई भने सुरक्षाकर्मीले सुरक्षित स्थानमा लैजाने कार्य गरेका थिए।

राजमार्गमा हात्तीको आतंकका कारण आवागमन रातभर अवरुद्ध भएको थियो। करिब बिहान २ बजे मात्रै नेपाल प्रहरी र ट्राफिक प्रहरीको समन्वयमा सडक सञ्चालनमा ल्याइएको थियो। तर सोमबार बिहान पुनः हात्ती देखिएपछि राजमार्ग फेरि बन्द गरिएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख दिपक केसीका अनुसार अहिले पनि हात्ती आसपासका जंगलमा देखापरेको छ र पुनः सडकतर्फ आउन सक्ने सम्भावना रहेको छ। त्यसकारण नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी र नेपाली सेनाको संयुक्त टोलीलाई सतर्क अवस्थामा राखिएको छ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार मानवीय क्षति भएका व्यक्तिको पहिचान हुन बाकी रहेको र सवारीसाधनहरूमा भएको क्षतिको पूर्ण विवरण संकलन भइरहेको बताए । सम्बन्धित चालक तथा सवारी धनीहरुसँग सम्पर्क पछि थप जानकारी सार्वजनिक गरिने उनले जानकारी दिए ।

यस घटनाले पुनः एक पटक निजगढ–पथलैया सडकखण्डमा हात्तीजन्य जोखिम कति गम्भीर बन्दै गएको संकेत दिएको स्थानीयवासीहरूको भनाइ छ। उनीहरूका अनुसार सो क्षेत्रमा वन्यजन्तु नियन्त्रणका दीगो उपाय नअपनाइएसम्म यस्ता घटनाहरू दोहोरिन सक्ने चिन्ता बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय