बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आज मंगलबारका दिन नगरभित्रका सम्पूर्ण विद्यालय तथा शैक्षिक संस्थामा शोक विदा दिने निर्णय गरेको छ।

उपमहानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै जेन-जी पुस्ताद्वारा आयोजित देशव्यापी प्रदर्शनका क्रममा घटेको दुर्भाग्यपूर्ण घटनाले सम्पूर्ण नगरलाई स्तब्ध तुल्याएको जनाएको छ । प्रदर्शनका क्रममा प्रहरीको गोली लागी ज्यान गुमाएका विद्यार्थीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उपमहानगरले घाइते विद्यार्थी तथा नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेको छ ।

‘दुःखद यो घडीमा विद्यार्थीहरूको बलिदानलाई स्मरण गर्दै नगरभित्र रहेका सम्पूर्ण विद्यालय तथा शैक्षिक संस्थामा शोक विदा दिइ पठनपाठन बन्द गरिने निर्णय गरिएको छ,’ उपमहानगरपालिकाको सूचनामा भनिएको छ ।

गत सोमबार देशका विभिन्न ठाउँमा जेन-जी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा सुरक्षा निकाय र प्रदर्शनकारीबीच झडप भएको थियो । त्यस क्रममा देशका विभिन्न स्थानमा विद्यार्थीहरू प्रहरीको गोलीको शिकार बनेका थिए । घटनापछि विद्यार्थी र स्थानीय बासिन्दाले न्यायको माग गर्दै आक्रोश व्यक्त गरिरहेका छन ।

शोक विदाको घोषणासँगै जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका सम्पूर्ण सार्वजनिक तथा निजी विद्यालयहरूमा मंगलबार नियमित पठनपाठन बन्द हुनेछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय