मानव बेचबिखन नियन्त्रणमा विशेष योगदान पुर्‍याएको भन्दै पर्सा जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) गौतम मिश्रलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय स्तरमा सम्मान गरेको छ।

मानव बेचबिखन तथा ओसार–पसार विरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार राजधानी काठमाडौंमा आयोजित विशेष समारोहमा मिश्रलाई उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकारीका रूपमा सम्मान गरिएको हो। कार्यक्रममा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले एसपी मिश्रलाई खादा ओढाई कदरपत्र प्रदान गरे।

समारोहमा बोल्दै मन्त्री सिंहले मानव बेचबिखन मानवता विरुद्धको जघन्य अपराध भएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न पर्सा प्रहरीले देखाएको सक्रियतालाई नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको बताए। उनले पर्सा प्रहरीले सञ्चालन गरेका अभियानले अन्य सुरक्षा निकायलाई समेत प्रेरणा दिएको बताए।

नेपालमा मानव बेचबिखन दीर्घकालीन चुनौती बनेको छ। विशेषगरी पर्सा, बारा र रौतहटजस्ता सीमावर्ती जिल्ला उच्च जोखिम क्षेत्रमा पर्ने मन्त्रालयले जनाएको छ। यस्ता क्षेत्रमा प्रहरीको सक्रियता, स्थानीय तहसँगको सहकार्य, सचेतनामूलक अभियान र अनुसन्धानलाई प्रभावकारी उपायका रूपमा लिइएको छ।

करीब सात महिनाअघि पर्सामा पदस्थापित एसपी मिश्रले मानव बेचबिखन नियन्त्रणलाई प्राथमिकतामा राख्दै निरन्तर अभियान सञ्चालन गर्दै आएका छन्। उनका नेतृत्वमा हालसम्म १५ वटा मुद्दा दर्ता भएका छन् भने १७ जना अभियुक्त पक्राउ परेका छन्। साथै, यी मुद्दामा प्रभावकारी अनुसन्धान सम्पन्न गरी अदालतमा पु¥याइएको मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै, मिश्रको नेतृत्वमा करिब ३०० महिला तथा बालबालिकालाई उद्दार गरी सुरक्षित रूपमा परिवारमा पुनःस्थापना गरिएको छ। उद्दार कार्यसँगै पर्सा प्रहरीले करिब ३५० सचेतनामूलक कार्यक्रम सञ्चालन गरी समुदायस्तरमा जागरण फैलाएको छ। विद्यालय, स्थानीय तह, नागरिक समाज तथा सरोकारवाला संस्थासँग सहकार्य गर्दै अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरिएको पर्सा प्रहरीले जनाएको छ।

कार्यक्रममा उपस्थित मन्त्री, सरकारी अधिकारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले मानव बेचबिखनविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउन बहुआयामिक सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

मन्त्रालयका अनुसार एसपी मिश्रलाई प्रदान गरिएको सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई जनमुखी र परिणाममुखी प्रहरी कार्यशैलीको उदाहरण हो। यसले अन्य प्रहरी कार्यालय र सुरक्षा निकायलाई पनि प्रोत्साहन दिने विश्वास व्यक्त गरिएको छ।

सरकारले मानव बेचबिखन नियन्त्रणलाई प्राथमिकतामा राख्दै आएको छ। तर, यस चुनौतीपूर्ण अपराधलाई नियन्त्रण गर्न प्रहरीको सक्रियता मात्र पर्याप्त नभई सरकारी नीतिको कार्यान्वयन, स्थानीय तहको सहभागिता, नागरिक समाजको सहकार्य र समुदायस्तरमै जनचेतना अभिवृद्धि अपरिहार्य हुने मन्त्रालयले स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय