सडक दुर्घटनाको जोखिम कम गर्ने र सडक प्रयोगकर्तामा ट्राफिक सचेतना बढाउने उद्देश्यले सुकेपोखरी संरक्षण समितिले बाराको निजगढ नगरपालिका स्थित निजगढ-सिगौंल सडकखण्डमा पर्ने सुकेपोखरी नजिक ट्राफिक सचेतनामूलक होर्डिङ बोर्ड जडान गरेको छ ।

शनिबार समितिले सुकेपोखरीको दक्षिण र उत्तरतर्फ दुईवटा होर्डिङ बोर्ड जडान गरेको हो । ती बोर्डमा सवारी दुर्घटनाबाट जोगिन आवश्यक सावधानीका उपाय र ट्राफिक नियम पालना गर्न प्रेरित गर्ने नारा अंकित गरिएको समितिले जनाएको छ ।

समितिका अध्यक्ष सर्जु थापाका अनुसार सुकेपोखरी क्षेत्रबाट गुज्रने सडक साँघुरो र घुमाउरो भएकाले पछिल्ला दिनमा मोटरसाइकल र अन्य सवारी साधनका दुर्घटना बढिरहेका थिए । उनले भने,‘यो सडकखण्डमा दुर्घटना हुने क्रम बढेसँगै हामीले सडक प्रयोगकर्तालाई सचेत पार्ने उद्देश्यले चेतनामूलक बोर्ड जडान गरेका हौं। यसले चालक र यात्रु दुवैलाई सावधान रहन प्रेरित गर्नेछ भन्ने अपेक्षा छ ।’

जिल्ला ट्राफिक कार्यालय बारा निजगढ र इलाका प्रहरी कार्यालयको समन्वयमा गरिएको यो कार्यले सडक सुरक्षासँगै सुकेपोखरी क्षेत्रमा आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि टेवा र्पुयाउने विश्वास गरिएको छ । बोर्डमा सुकेपोखरीको प्राकृतिक सौन्दर्य, पर्यटकीय सम्भावना र यसको संरक्षणसम्बन्धी सन्देश समेत समावेश गरिएको समितिले जनाएको छ ।

अध्यक्ष थापाले विगत एक वर्षदेखि समितिले सुकेपोखरी र यसको आसपासको क्षेत्रमा सरसफाइ, वृक्षरोपण, संरचनागत सुधार र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । ‘हामीले सुकेपोखरीलाई स्वच्छ, हरियाली र पर्यटकमैत्री गन्तव्य बनाउन विभिन्न गतिविधि गर्दै आएका छौं । यो होर्डिङ बोर्ड पनि त्यही प्रयासको निरन्तरता हो,’ उनले भने ।

स्थानीय बासिन्दाले समितिको यो कदमलाई स्वागत गरेका छन । उनीहरूले सडक दुर्घटना रोकथाम र पर्यटकीय प्रवद्र्धनमा यस्तो पहल उपयोगी हुने प्रतिक्रिया दिएका छन ।

सुकेपोखरी संरक्षण समितिले निकट भविष्यमा पोखरी क्षेत्रको थप संरक्षण, पदमार्ग निर्माण र वातावरणमैत्री पूर्वाधार विकासका कार्यक्रम अघि सार्ने तयारी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय