बाराको निजगढ नगरपालिका–११ स्थित रतनपुरमा रहेको जनस्वास्थ्य सरोकार केन्द्र रतनपुरका अध्यक्ष धनबहादुर खुलालले संस्थाको एम्बुलेन्स सदस्यहरुलाई जानकारी नै नदिइ बिक्री गरेको र आम्दानीसमेत हिनामिना गरेको आरोप लगाइएको छ ।

आइतवार निजगढमा पत्रकार सम्मेलन गरेर संस्थाका सदस्यहरुले यस्तो आरोप लगाएका हुन । ६ वर्षदेखि संस्थाको साधारण सभा नगरेको र संस्थाको नाममा रहेको ना. २ च ३४९३ नम्बरको एम्बुलेन्स कानुन विपरित बिक्री गरेर सोको रकमसमेत हिनामिना गरेकाले अध्यक्ष खुलालमाथि कारबाही हुनुपर्ने उनीहरुले माग गरेका छन ।

‘एम्बुलेन्सको आम्दानी र खर्चमात्रै होइन, संस्थाका सदस्य सुमन थिङ्गले भने, कार्यसमितिलाई जानकारी नै नदिइ एम्बुलेन्स नै बिक्री गरेर रकम हिनामिना गरिएको छ ।’ नियमअनुसार गर्नुपर्ने संस्थााको साधारण सभा नगरी यसरी सम्पति हिनामिना गर्ने दोषिमाथि कानुनी कारबाही हुनुपर्ने उनले बताए । खुलाल ०७६ सालमा संस्थाको अध्यक्षमा चुनिएका थिए ।

निजगढको सगरमाथा सहकारी संस्थाको सभा हलमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले संस्थाको एम्बुलेन्स शुरुमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ बस्ने प्रेम पहरीलाई ‘गरी खानु भनेर’ कपाली तमसुक गरेर जिम्मा लगाएको र अध्यक्ष खुलालकै मिलिमतोमा पछि अर्काे मान्छेलाई बिक्री गरेको पाइएको जानकारी दिए ।

संस्थाको एम्बुलेन्स गाउँमा नदेखिएपछि खोजी गर्ने क्रममा उक्त एम्बुलेन्स बिक्री गरिएको कागजपत्र फेला परेको पत्रकार सम्मेलनमा सुनाइएको विज्ञप्तिमा उल्लेख छ । ‘शुरुमा प्रेम पहरीलाई गरी खानु भनेर जिम्मा लगाइएको रहेछ, पछि प्रेम पहरीले पनि सोही ठाउँकी मञ्जु पहरीलाई बिक्री गरेको पाइयो ।’ विज्ञप्तिमा भनिएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष खुलालले ०७९ असार ९ गते सो एम्बुलेन्स पहरीलाई जिम्मा लगाएको र पहरीले पनि ०८० साल मंसिर महिनामा छ लाख रुपैयामा सोही ठाउँकी मञ्जु पहरीलाई बिक्री गरेको कपाली तमसुक पनि प्रस्तुत गरिएको थियो ।

एम्बुलेन्सको भाडा, बिक्री गरेको रकम र साधारण सभाको बारेमा पटक पटक जानकारी माग्दा अध्यक्ष खुलालले गत बैशाखमा एम्बुलेन्स फिर्ता ल्याएको तर संस्थाको आम्दानी खर्चको हिसाब किताब गरेर नयाँ समिति गठन गर्न नमानेपछि गाउँबाट भगाएर चन्द्रपुरतर्फ लैजादै गरेको अवस्थामा निजगढको पूर्वपश्चिम लोकमार्गको लच्काबाट नियन्त्रणमा लिएर स्थानीयले निजगढ प्रहरीको जिम्मा लगाएका थिए ।

इलाका प्रहरी कार्यालय निजगढमा संस्थाको साधारण सभा र आम्दानी खर्च सार्वजनिक गरेर मात्रै एम्बुलेन्स संचालन गर्ने सहमति भएकोमा सहमति विपरित प्रहरीले निजलाई नै एम्बुलेन्स फिर्ता दिएपछि जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि प्रहरीले फेरि सो एम्बुलेन्स नियन्त्रणमा लिएर हाल इलाका प्रहरी कार्यालय निजगढमा ल्याएर राखेको छ ।

अध्यक्ष खुलालले जिल्ला प्रहरी कार्यालय बारा कलैयामा गत जेष्ठ १६ गते संस्थाको साधारण सभा गर्ने भनेर गरेको लिखित सहमति पनि उल्लङ्घन गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । ‘जिल्ला प्रहरीमा १ महीनाभित्र साधारण सभा गर्छु भनेर सहीछाप गरेका थिए, विज्ञप्तिमा भनिएको छ, तर हालसम्म पनि सोको कार्यान्वयन भएको छैन ।’ अध्यक्ष खुलालले त्यसअघि १ हप्ताभित्र सभा बोलाउने भनेर इलाका प्रहरी कार्यालयमा गरेको सहमति कार्यान्वन नभएपछि जिल्ला प्रहरी कार्यालयमा अर्को लिखित सहमति भएको हो ।

विज्ञप्तिमा अध्यक्ष खुलालले कानुन विपरित संस्था संचालन गर्दैआएको, संस्थाको सम्पति हिनामिना तथा पदकोसमेत दुरुपयोग गरेको हुनाले निजमाथि आवश्यक कानुनी कारबाही र हिनामिना भएको सम्पति असुल उपर गराउन सम्बन्धित निकायको ध्यानाकर्षणको लागि पत्रकार सम्मेलनको आयोजना गरिएको विज्ञाप्तिमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा नेकपा एमाले जिल्ला कमिटीका सदस्य दिनेश लामा, एमाले निजगढका नेता जयराम कुवर, नगर कमिटी सदस्य वीर सिंह थिङ्ग, वडा नम्बर १२ एमाले अध्यक्ष युवक मोक्तान, सदस्य श्यामबहादुर थिङ्ग र सुब्बा लुङ्गवालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय