सुरक्षा सेवामध्ये सबैभन्दा आकर्षक मानिने नेपाल प्रहरीमा पछिल्लो समय आकर्षण घट्दै गएको देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा मात्रै २३ सय ६९ जना सुरक्षाकर्मीले स्वेच्छिक राजीनामा दिएको तथ्य सार्वजनिक भएको छ ।

प्रहरी जवानदेखि अधिकृत तहसम्मको यो संख्याले प्रहरी संगठनभित्रको गम्भीर असन्तुष्टि, मनोबल घट्नु र आन्तरिक चुनौतीहरूको संकेत गरेको प्रहरी स्रोतहरू बताउँछन ।

राजीनामाको पछाडि वैदेशिक मोह र आन्तरिक राजनीति
आइतबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले एक वर्षको अवधिमा २३ सय ६९ जना सुरक्षाकर्मीले राजीनामा दिएको जानकारी दिए ।

‘कतिपय सुरक्षाकर्मीले वैदेशिक रोजगारीमा आकर्षक तलब पाएपछि सेवा परित्याग गरेका छन,’ प्रवक्ता घिमिरेले भने, ‘केहीले अनुशासनहीन गतिविधिमा मुछिएपछि विभागीय कारबाहीको प्रक्रियाबाट बच्न राजीनामा दिएका छन।’

उनका अनुसार प्रहरी संगठनभित्र बढुवा, सरुवा र वृत्तिविकासमा देखिएको अपारदर्शिता, आन्तरिक राजनीति, सम्मानको अभावजस्ता कारणहरूले पनि सुरक्षाकर्मीहरूको मनोबलमा प्रत्यक्ष असर परेको छ ।

अपराध नियन्त्रणमा चुनौती थपिँदै
जनशक्ति घट्दै गइरहेका बेला अपराध नियन्त्रण प्रहरीका लागि थप चुनौतीपूर्ण बन्दै गएको छ।

प्रवक्ता घिमिरेले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८१/८२ मा देशभरका प्रहरी कार्यालयहरूमा ५८ हजार ४७२ उजुरी दर्ता भएका छन ।

तीमध्ये योजनाबद्ध हत्या (मर्डर) सम्बन्धी ५१०, अपहरणका १४२, मानव बेचबिखनका १५२ र जबर्जस्ती करणीका २ हजार ३८७ उजुरी परेका छन ।

‘हाल प्रहरी कार्यालयमा दैनिक औसत १ सय ६० उजुरी दर्ता भइरहेका छन,’ घिमिरेले भने ।

संगठनभित्र सुधारको खाँचो
बढ्दो राजीनामा र घट्दो मनोबलले प्रहरी संगठन संकटतर्फ उन्मुख भइरहेको संकेत मिलेको विश्लेषकहरूको भनाइ छ ।

उनीहरूका अनुसार संगठनमा पारदर्शिता, मर्यादित पेशागत वातावरण, निष्पक्ष सरुवा-बढुवाको प्रणाली र प्रोत्साहनका उपायहरू अवलम्बन नगरे प्रहरीमा मनोबल थप घट्ने र आन्तरिक सुरक्षा व्यवस्थापनमा प्रतिकूल असर पर्ने खतरा बढ्दो छ।

प्रहरी प्रधान कार्यालयले भने संगठनलाई थप अनुशासित, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय