बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब १ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार बसेको नगरको १२औं नगरसभामा उपप्रमुख भोला प्रसाद अधिकारीले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पयटन र सामाजिक समावेशीतामा विशेष प्राथमिकता दिइएको छ । ‘आत्मनिर्भर, सक्षम एवं जनमुखी स्थानीय सरकार, समृद्ध र सुशासनयुक्त जीतपुरसिमरा’ भन्ने नारासहित बजेटले समावेशी विकास र सेवा प्रवाहलाई केन्द्रमा राखेको छ ।

आन्तरिक आम्दानीको लक्ष्य ४७ करोड ४० लाख, समानीकरण अनुदानमार्फत पूर्ति
उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बैंक मौज्दातसहित ४७ करोड ४० लाख २३ हजार रुपैयाँ आन्तरिक आम्दानीको लक्ष्य लिएको छ । संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समानीकरण, विशेष, समपुरक तथा अन्य अनुदानमार्फत बाँकी रकम जुटाइनेछ । समानीकरण अनुदानबाट ३२ करोड ५० लाख, संघीय सरकारबाट ५६ करोड ८१ लाख ७७ हजार र विशेष अनुदानबाट १ करोड ९३ लाख रुपैयाँको अनुमान गरिएको छ । त्यस्तै, राजस्व बाँडफाँड, मालपोत, रजिष्ट्रेशन, विज्ञापन कर तथा निर्माण सामग्री चयथबतिथ लगायतबाट ५२ करोड ७४ लाख रुपैयाँको अनुमान गरिएको छ ।

वडा र नगरस्तरका योजनामा करिब ३० करोड रुपैयाँ विनियोजन
२४ वटै वडाहरूमा न्यूनतम ५० लाखदेखि अधिकतम १ करोड १२ लाखसम्म बजेट बाँडफाँट गरिएको छ । कुल २० करोड रुपैयाँ वडास्तरीय योजनाका लागि छुट्याइएको छ । त्यस्तै, प्रत्येक वडामा नगरस्तरबाट कम्तीमा २५ लाख र १० लाख बराबरका योजनाहरू अनिवार्य रूपमा लागू गरिनेछ । यस्ता नगर योजनाका लागि अतिरिक्त ८ करोड ४० लाख विनियोजन गरिएको छ ।

शिक्षा क्षेत्रको स्तरोन्नतिमा १ करोड ५० लाख विनियोजन, छात्रवृत्तिका लागि छुट्टै कार्यक्रम
गुणस्तरीय शिक्षाको पहुँच विस्तार र पूर्वाधार निर्माणका लागि बजेटमा विशेष ध्यान दिइएको छ । शिक्षा रूपान्तरण कार्यक्रमलाई निरन्तरता दिँदै १ करोड ५० लाख विनियोजन गरिएको छ । नगरका सरकारी विद्यालयहरूमा अध्ययनरत विज्ञान संकायका विद्यार्थीहरूलाई छात्रवृत्तिका लागि ४० लाख छुट्याइएको छ । साथै, विद्यालयका भवन निर्माण, शिक्षक प्रोत्साहन, सूचना प्रविधि मैत्री शिक्षण प्रणाली, प्राथमिक शिक्षामा पहुँच विस्तार लगायतका कार्यक्रमलाई पनि बजेटमा प्राथमिकता दिइएको छ ।

स्वास्थ्य सेवा प्रभावकारी बनाउने, १५ शैयाको अस्पताल सञ्चालन तयारी
स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले नगरले १५ शैयाको आधुनिक अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि चालू आर्थिक वर्षमै ९ करोड रुपैयाँ बजेट छुट्याइएको छ । यस अस्पतालमा सामान्य शल्यक्रियासमेत उपलब्ध गराइने व्यवस्था मिलाइएको छ । त्यस्तै, महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक ३ हजारका दरले प्रोत्साहन भत्ता दिन २७ लाख विनियोजन गरिएको छ ।

कृषिमा व्यवसायिकरण र जलसिंचाइमा जोड
कृषि क्षेत्रमा आधुनिकता ल्याउँदै उत्पादन वृद्धि गर्ने लक्ष्यसाथ नगरले कृषि योजनालाई अघि सारेको छ । कृषि पकेट क्षेत्र विस्तार, प्रविधियुक्त कृषि अभ्यास, बीउ–बिजन, औजार तथा तालिमहरू प्रदान गरिनेछ । व्यावसायिक कृषकहरूलाई प्राविधिक सहयोग, अनुदान र भ्रमण कार्यक्रममार्फत थप प्रेरणा दिने योजना बनाइएको छ । कृषिमा सिँचाइ प्रणाली सुधारको लागि कुपो साय, डिप बोरिङ तथा पक्की बाँध निर्माणमा बजेट छुट्याइएको छ ।

खेलकुद तथा पर्यटन प्रवद्र्धनका लागि छुट्टै व्यवस्था
युवा तथा खेलकुद क्षेत्रमा ध्यान दिँदै जीतपुरसिमरालाई खेलकुद हब बनाउने योजना अगाडि सारिएको छ । नगरभित्रका खेलमैदानको स्तरोन्नति, खेलकुद प्रतियोगिताहरूको आयोजना र खेल पूर्वाधार निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । अमलेखगञ्जलाई पयर्टन हबको रूपमा विकास गर्न बजेट विनियोजन गरी कार्यक्रम तयार गरिएको जनाइएको छ ।

सामाजिक समावेशिता र समृद्ध समाज निर्माणमा जोड
दलित, महिला, मधेसी, मुस्लिम, अपांगता भएका व्यक्तिहरू लगायत पिछडिएको वर्गको जीवनस्तर उकास्ने कार्यक्रमहरू अघि सारिएका छन्। सीपमूलक तालिम, स्वरोजगार कार्यक्रम, तालीम तथा अनुदानका माध्यमबाट सशक्तिकरण गरिनेछ । त्यसैगरी, दसित समुदायको उत्थानको लागि कुमारी आवास कार्यक्रमलाई निरन्तरता दिँदै १ करोड छुट्याइएको छ। वृद्ध नागरिक, अपांगता भएका नागरिक, सुकुम्बासी लगायतका लक्षित समूहका लागि पनि छुट्टै कार्यक्रम तय गरिएको छ ।

पूर्वाधार विकासमा ७ करोड ५० लाखः खानेपानी र सडक प्राथमिकतामा
नगरले मुख्य पूर्वाधार योजनामा ७ करोड ५० लाख बजेट विनियोजन गरेको छ । बकुसिया ट्यांकीबाट वडा नं. ५, ६, ७ र ८ मा शुद्ध खानेपानी वितरण गर्न ३ करोड ५० लाख बजेट छुट्याइएको छ । नगर क्षेत्रका सम्पूर्ण सडक क्रमशः स्तरोन्नति गर्दै जाने नीति तय गरिएको छ । व्यापारीक कम्प्लेक्स, भवन निर्माण, स्वास्थ्यचौकी र वडा कार्यालयहरूका भवनको निर्माणका लागि समेत बजेट समेटिएको छ ।

वातावरण संरक्षण र विपद् व्यवस्थापनमा छुट्टै ध्यान
नगरले वातावरणमैत्री प्रविधि प्रवद्र्धनमा जोड दिँदै ५० लाख रुपैयाँको वैकल्पिक ऊर्जा कार्यक्रम अघि सारेको छ । बायोग्यास, इन्डक्सन चुलो, सुधारिएको चुलो वितरण गरिनेछ । वन संरक्षण, बाढी प्रकोप नियन्त्रण, अव्यवस्थित बसोबास व्यवस्थापन लगायतका योजना पनि बजेटमा समेटिएको छ । विपद् व्यवस्थापन, राहत र पुनःस्थापनाका लागि आवश्यक तयारी गरिने बताइएको छ ।

राजस्व सुधारका उपायः व्यवसाय दर्ता अभियान सञ्चालनमा
बजेटमा राजस्व सुधारका लागि व्यवसाय दर्ता अभियान सञ्चालन गरिने उल्लेख गरिएको छ । अनियमित व्यवसायलाई दर्ता प्रक्रियामा ल्याउने र बक्यौता कर असुली गर्ने नीति लिइएको छ । २०७९/८० सम्मको कर मिनाहा गरी २०८२/०८३ मा एकमुष्ट दाखिला गर्न प्रोत्साहन गरिनेछ ।

बजेटको प्रभावकारी कार्यान्वयनमा सहकार्य र पारदर्शिता आवश्यकः उपप्रमुख अधिकारी
बजेट प्रस्तुत गर्दै उपप्रमुख अधिकारीले सबै योजनाको सफल कार्यान्वयनका लागि संघीय, प्रदेश सरकार, सहकारी, निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिक समाजको समन्वय अपरिहार्य रहेको बताएका छन । पारदर्शिता, जवाफदेही र प्रभावकारी कार्यान्वयन नै यस बजेटको आत्मा भएको भन्दै उनले जनप्रतिनिधि, कर्मचारी, वडाअध्यक्ष र सरोकारवालासँग पूर्ण सहयोगको अपेक्षा गरेका छन ।

जीतपुरसिमराको यसपटकको बजेटले पूर्वाधार विस्तार, शिक्षा–स्वास्थ्यको पहुँच, सामाजिक समावेशीकरण र कृषि विकासमा केन्द्रित रहेर योजनाबद्ध विकासको खाका प्रस्तुत गरेको छ । अब यसको प्रभावकारिता कार्यान्वयनमै निर्भर रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय