बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित हलेसि पेट्रोल पम्प नजिकबाट प्रहरी टोलीले ठूलो परिमाणमा अखाद्य तेलजन्य पदार्थसहित एक मिनि ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीको कमाण्डमा खटिएको टोलीले फत्तेपुर निवासी २१ वर्षीय सुवास चौधरीलाई ना. १ क २८३६ नम्बरको मिनि ट्रकमा चोरी गरिएका तेलजन्य पदार्थ लोड गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, सुरेन आले नामक व्यक्तिद्वारा सञ्चालनमा रहेको ग्यारेज पछाडिको खाली जग्गामा ट्याङ्करबाट चोरी गरिएका तेलहरू ट्रकमा लोड गरेर बेचबिखन गर्ने काम भइरहेको थियो । प्रहरीले घटनास्थलबाट ५,७९५ लिटर बनस्पति जस्तो देखिने अखाद्य पदार्थ १,००० लिटर पेट्रोल, ६०० लिटर डिजेल र ६०० लिटर मट्टितेल बरामद गरेको छ । विभिन्न ड्रम र ग्यालेनमा राखिएका ती तेलजन्य पदार्थहरूको कूल परिमाण ७,९९५ लिटर रहेको छ भने यसको अनुमानित बजार मूल्य ९ लाख ७६ हजार ४ सय ५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।



घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताएका छन । प्रहरीले यसलाई गम्भीर आर्थिक अपराधको रुपमा लिँदै अनुसन्धानलाई तीव्रता दिएको छ ।






