बारामा सक्रिय मोटरसाइकल चोरी समूहको गतिविधि प्रहरीको निगरानीमा परेपछि ठूलो संख्यामा चोरी भएका मोटरसाइकल फेला परेको छ। इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरी उनीहरूको साथबाट पाँच वटा मोटरसाइकल बरामद गरेको हो। प्रहरीले पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राखेको छ। उनीहरू अन्य चोरीका घटनामा समेत संलग्न भएको हुनसक्ने आशंका गरिएको छ।

कतिपय मोटरसाइकल घरअगाडि पार्किङ गरिएको अवस्थामा चोरी हुन्थे भने केही किनमेल गर्न गएका बेला हराएका थिए। चोरी भएपछि स्थानीयहरूले इलाका प्रहरी कार्यालय कोल्हवीमा उजुरी दिंदै सुरक्षा व्यवस्था कडा पार्न माग गर्दै आएका थिए। प्राप्त गुनासोलाई गम्भीर रूपमा लिँदै प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो।

ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख प्रहरी निरीक्षक रंजन मिश्रको कमाण्डमा खटिएको टोलीले नियमित गस्ती, विशेष सूचनाको विश्लेषण र स्थानिय सहयोगको आधारमा केही दिनभित्रै चोरीमा संलग्न समूहलाई पत्ता लगाउन सफल भएको हो। सो क्रममा विभिन्न स्थानमा अपरेसन सञ्चालन गर्दै मोटरसाइकलसहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा कोल्हवी नगरपालिका–१ का २१ वर्षीय राहुल बिक, २३ वर्षीय अर्जुन खवास र २३ वर्षीय मुस्कान चौधरी रहेका छन्। उनीहरू सबै स्थानीय बासिन्दा हुन्। प्रारम्भिक अनुसन्धानबाट उनीहरू विगतमा पनि आपराधिक गतिविधिमा संलग्न रहेको आशंका प्रहरीको छ। तीनैजनाविरुद्ध जिल्ला अदालत बाराबाट म्याद थप गराई चोरीसम्बन्धी मुद्दामा अनुसन्धान थालिएको छ।

प्रहरीका अनुसार प्रारम्भिक बयानका क्रममा उनीहरूले मोटरसाइकलहरू विभिन्न ठाउँबाट चोरी गरी सुरक्षित स्थानमा लुकाउने, केही अवस्थामा नम्बर प्लेट फेरेर बिक्री गर्ने प्रयास गरेको खुल्न आएको छ। उनीहरूको साथबाट बरामद गरिएका मोटरसाइकलहरूमा प्र.२-०३-००६ प ६५१५ को १२५ सिसी क्षमताको होन्डा शाइन, ना ४८ प ६९७० नम्बरको टीभीएस आरटीआर २००, बा ९४ प २१४६ नम्बरको बजाज पल्सर २२०, ना ६५ प ८८६० नम्बरको टीभीएस स्ट्राइकर र प्रदेश २-०३-०५ प ६२२६ नम्बरको टीभीएस स्ट्राइकर रहेका छन्।

ईलाका प्रहरी प्रमुख मिश्रले ती मोटरसाइकलहरू चोरी गरिएको पुष्टि भइसकेको र पीडित पहिचानको प्रक्रिया पनि अघि बढिरहेको जानकारी दिए।

प्रहरीले यस घटनालाई पछिल्ला महिनामा अपराध नियन्त्रणतर्फको महत्वपूर्ण सफलता मानेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ परेकाहरूका विस्तृत बयानका आधारमा अन्य घटनाहरूको समेत सुराकी पाइएको छ। त्यसअनुसार सम्भावित अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ।

प्रहरी स्रोतका अनुसार चोरी गरिएका केही मोटरसाइकलहरू भारत तर्फ तस्करी गर्ने योजनामा रहेको आशंका समेत गरिएको छ। यसबारेमा सिमावर्ती क्षेत्रका सुरक्षानिकायसँग समन्वय गरी अनुसन्धान अगाडि बढाइएको छ।

यसबीच, स्थानीय बासिन्दाले मोटरसाइकल चोरीमा संलग्न व्यक्तिहरू पक्राउ परेपछि राहतको महसुस भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्ता घटना दोहोरिन नदिन प्रहरीले थप निगरानी बढाउनुपर्नेमा जोड दिएका छन्। सामुदायिक प्रहरी साझेदारीलाई अझ सशक्त बनाएर अपराध नियन्त्रण गर्न सकिनेमा स्थानीयको विश्वास छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय