काठमाडौं चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समुहद्वारा आयोजित आन्दोलनका क्रममा ज्यान गुमाएका एभिन्यज टेलिभिजनका पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल पत्रकार महासंघ बारा शाखाको आयोजनामा बुधबार बाराको कलैया र सिमरा उपमहानगरपालिका दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो ।
कलैया स्थित भरत चोकमा भएको कार्यक्रममा बारा जिल्लाका सक्रिय सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उनीहरूले स्वर्गीय पत्रकार रजकको चिर शान्तिको कामना गर्दै दिप प्रज्वलन गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुबेदीको अध्यक्षता रहेको थियो भने महासंघ केन्द्रका सदस्य सिकेन्द्र पासवान, मधेश प्रदेशका कोषाध्यक्ष अनिल गौरभ, सदस्य साजिर मंसुर लगायत थुप्रै सञ्चारकर्मी तथा सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो।



कार्यक्रमका संचालक नेपाल पत्रकार महासंघ बारा सह–सचिव इन्दीप कोइरालाले पत्रकार रजकको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै उनलाई एक प्रतिबद्ध, निडर र कर्तव्यनिष्ठ पत्रकारका रूपमा स्मरण गरे साथै, उनीहरूले वर्तमान समयमा सञ्चारमाध्यम र सञ्चारकर्मीहरू दिनप्रतिदिन जोखिममा पर्दै गइरहेको अवस्थामा राज्यले आवश्यक सुरक्षा व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।
पत्रकार महासंघ बाराका अध्यक्ष सुबेदीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणको पक्षमा आवाज उठाउँदै काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको घोर भत्र्सना गरे । उनले अराजक समूहले सञ्चारमाध्यम र सञ्चारकर्मीहरूलाई लक्षित गरी गरेको आक्रमणलाई गम्भीर रूपमा लिएको जनाउँदै दोषीहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेको छन ।
यस्तै पत्रकार महासंघ बाराका सचिव पुष्पराज अतिवडाको अध्यक्षतामा सिमरामा भएको कार्यक्रममा महासंघ बाराका पुर्व अध्यक्ष रेशम तिवारी, कोषाध्यक्ष रन्जन यादव, खेलकुद पत्रकार मंचबाराका अध्यक्ष सरदचन्द्र भट्टराई लगाएतको सहभागिता रहेको थियो ।






