काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २६ चैतमा गर्न लागेको जनसभा र प्रदर्शनको तयारी पूरा भएको जनाएको छ । राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दु अधिराज्य पुनर्स्थापनाका लागि मंगलबार काठमाडौंमा प्रदर्शन र जनसभा गर्न लागेको हो ।

भृकुटीमण्डपमा आयोजना हुने जनसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने छन्। सभाअघि सुन्धाराबाट एनएसी, रत्नपार्क हुँदै जुलुस निस्कने र उक्त जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । १५ चैतमा दुर्गा प्रसाई नेतृत्वको संयुक्त जनआन्दोलन समितिको प्रदर्शन हिंसात्मक बनेका कारण राप्रपाले मंगलबारको प्रदर्शनलाई अहिंसात्मक र शान्तिपूर्ण बनाउने तयारी गरेको छ ।

यसअघि चैत १५ गते राप्रपाको समेत समर्थन र सहभागितामा संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापनाका लागि भन्दै काठमाडौंको तीनकुनेमा आयोजना गरिएको सभा हिंसात्मक भएको थियो । दुर्गा प्रसाईले नेतृत्व गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको छ भने अर्बौंको भौतिक क्षति पुगेको अनुमान छ।

लगत्तै बसेको राप्रपाको बैठकले हिंसा भड्किनुको दोष सरकारलाई लगाएको थियो । तर हिंसा भड्काएको भन्दै प्रहरीले राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायतलाई पक्राउ गरेको छ । राप्रपाले चैत २६ गते मंगलबार गर्न लागेको सभालाई राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जनमान गुरुङले समेत समर्थन जनाएका छन् ।

भृकुटीमण्डपमा सभा गर्न नदिए पछि राप्रपाले बोलायो आकस्मिक बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टीको आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैँछ ।

जसअनुसार आज दिउँसो ३ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ ।

राप्रपाले यही २६ चैतमा प्रदर्शन र सभा आयोजना गरे पनि प्रशासनले भृकुटीमण्डपमा राप्रपालाई सभा गर्न नदिने भए पछि सो बैठक बोलाइएको हो ।

राप्रपाले माग गरेको भृकुटीमण्डपमा जिल्ला प्रशासन कार्यालयले शिक्षक आन्दोलन र अन्य आन्दोलनको कारण देखाउँदै सभा गर्न नदिने जनाउँदै बल्खु वा सिफलमा गर्न बैकल्पिक स्थान तोके पछि राप्रपाले आकस्मिक रूपमा बैठक बोलाएको हो ।

बैठकले स्थानिय प्रशासनले भृकुटीमण्डपमा प्रदर्शन गर्ने अनुमति नदिए पछि अब के गर्ने ? भन्ने बारेमा छलफल गर्ने जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय