बाराको करैयामाई गाउँपालिकाले कार्यालयको खर्चमा पालिकाका विपन्न तथा असहाय परिवारका युवा/युवतीहरुको लागि सामुहिक विवाह गर्ने तयारी गरेको छ ।
गाउँपालिकाको कार्यालयले सोमबार सूचना जारी गर्दै सामूहिक विवाह कार्यक्रममा सहभागी हुन इच्छुकले आवेदन दिन आग्रह गरेको छ ।



गाउँपालिकाको १५ औं गाउँसभाबाट पारित योजना अन्तर्गत १० लाखको बजेटमा सामूहिक विवाह कार्यक्रम गर्न लागिएको हो । वैशाख ११ गते हुने उक्त वैवाहिक कार्यक्रममा सहभागी हुन चैत्र १५ गतेभित्र आवदेन दिनुपर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतोद्वारा जारी सूचनामा जनाइएको छ ।
वैवाहिक कार्यक्रमका लागि गाउँपालिकाभित्र बसोबास गर्ने २० वर्ष उमेर पूरा भएका युवतीले मात्रै आवदेन दिन पाउने अधिकृत महतोले बताए । गाउँपालिकाले वैवाहिक कार्यक्रममा सहभागी हुने बेहुला र बेहुलीको नागरिकता तथा जन्मदर्ता अनिवार्य गरेको छ । वैवाहिक कार्यक्रममा सहभागी हुन आवेदन दिएका युवतीको परिवार विपन्न रहे नरहेको पहिचान गरिने र त्यसपछि मात्रै वैवाहिक कार्यक्रममा सहभागी गराइने महतोको भनाई छ ।
आवेदन दिएर वैवाहिक कार्यक्रमका लागि छानिएका युवतीको भोजन र जग्गेमा हुने अन्य खर्च गाउँपालिकाको कार्यालयले व्यहोर्ने बताइएको छ ।







