Afghans crowd at the tarmac of the Kabul airport on August 16, 2021, to flee the country as the Taliban were in control of Afghanistan after President Ashraf Ghani fled the country and conceded the insurgents had won the 20-year war. (Photo by – / AFP)

तालिवान विद्रोहीहरूले अफगानिस्तानको राजधानी काबुलमा कब्जा जमाएपछि अफगानिस्तानबाट बाहिरिन चाहने अफ्गान नागरिकका साथै विदेशी नागरिकहरूको भीडमा करिब १४–१५ सय नेपाली नागरिकहरू पनि उद्धारको आशमा आइतबार रातीदेखि काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खेर बसिरहेका छन् ।

काबुलस्थित एउटा होटेलमा सुरक्षागार्डका रुपमा कार्यरत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–४ का दुर्गाबहादुर नेपालीका अनुसार उनीसहित करिब १४–१५ सय नेपालीहरू आइतबार रातीदेखि नै विमानस्थलमा एकै ठाउँमा जम्मा भएर बसेका छन् ।

सरकारले संकटग्रस्ट अफगानिस्तानबाट नेपालीहरूको उद्धारका लागि पहल शुरु गरेको अवस्थामा यतिखेर काबुलको विमानस्थलमा पहुँच बढाउनसके मात्र पनि सरकारले धेरै नेपालीको उद्धार गर्नसक्ने सम्भावना छ । सरकारले आइतबार नै अफगानिस्तानबाट नेपालीहरू उद्धार गर्ने पहलका लागि परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेको संयोजकत्वमा एउटा कार्यदल गठन गरेको छ ।

साथै मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरूलाई कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np मा व्यवस्था गरिएको अनलाईन रजिष्ट्रेशन पोर्टलमा दर्ता गरी आफ्नो अवस्थाको बारेमा जानकारी दिन आह्वान गरेको छ । अफगानिस्तानमा संकट शुरु भएदेखि नै दुर्गाबहादुरसँग निरन्तर सम्पर्कमा रहनुभएका उहाँका आफन्त प्रेमप्रकाश नेपालीले आइतबार रातीदेखि सम्पर्क गर्न समस्या परेको जानकारी दिँदै विमानस्थलमा भेला भएका यी नेपालीहरूका लागि सरकारले आग्रह गरे झै अनलाईन पोर्टलमा दर्ता हुन वा मन्त्रालय, कन्सुलर तथा दिल्लीस्थित नेपाली नियोगको मोबाइल नम्बरमा सम्पर्क राख्न सहज नहुने धारणा राख्नुभयो ।

उहाँले यस्तो अवस्थामा सरकारले अन्य मित्र राष्ट्रहरूको दूताबास वा अन्य कुनै माध्यमबाट आंशकित र आतंकित अवस्थामा रहेका नेपालीहरूसँग सम्पर्क राखेर उद्धार कार्य अघि बढाउनेतर्फ पनि सोच्नु जरुरी भएको बताउनुभयो । राष्ट्रिय भूमि अधिकार मञ्चमा कार्यक्रम व्यवस्थापकका रुपमा कार्यरत प्रेमप्रकाशका अनुसार उहाँको आफन्त पर्ने दुई जना दुर्गाबहादुर र बीरेन्द्रनगर–१० का प्रेमबहादुर नेपालीसँगै अर्का एकजना सुर्खेत, लेकबेशी–४का प्रेम मच्छेल गरी तीनजना चार महिनाअघि मात्रै काबुलको होटेल रोयल पार्क टावरमा सुरक्षागार्डको रुपमा काम गर्न काबुल पुगेका हुन् ।

दुर्गाबहादुर भुतपूर्व सैनिक हुनुहुन्छ भने उहाँकै मामा प्रेमबहादुर भने भूतपूर्व सशस्त्र प्रहरी हुनुहुन्छ । उहाँहरूलाई अमेरिकी र जर्मन दूताबासमा सुरक्षागार्ड आपूर्ति गर्ने हार्ड कम्पनीले उक्त होटेलमा काम लगाएको हो । दुर्गाबहादुरका अनुसार उहाँहरूलाई हार्ड कम्पनीले सुरक्षित रुपमा स्वदेश फर्काइदिने बचन दिएको छ ।
हुन त राष्ट्रपति असरफ घानीले अफ्गानिस्तान छाड्नुभएपछि तालिवान विद्रोहीहरूले विदेशी नागरिकहरूलाई सुरक्षित रुपमा फर्कन दिने बताएको छ ।

तर यसअघि काबुल कब्जा गर्ने क्रममा भएको हिंसाका कारण अतालिएका अफ्गान नागरिक र अन्योलमा रहेका विदेशी नागरिकहरूको तछाडमछाडले यतिखेर काबुल विमानस्थल झनै असुरक्षित बनेको छ । अमेरिकी एअर फोर्स सी–१७ मा चढ्न भएको तछाडमछाडमा ३ जनाको मृत्यु भएको अपुष्ट खबरपछि काबुलस्थित दूताबासहरूले आफ्ना नागरिकलाई विमानस्थल नजान आग्रह गरेको छ ।

ती दूताबासले विमानस्थल झनै असुरक्षित रहेको भन्दै आफ्नो निर्देशनबिना विमानस्थल नजान आफ्ना नागरिकहरूलाई सूचना जारी गरेको हो ।यस्तो स्थितिमा अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धारका साथै काबुल विमानस्थलमा पुगेका नेपालीहरूको सुरक्षाको जिम्मेवारी पनि सरकारको काँधमा आइपरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय