बारामा स्थानीय तहका एक महिला जनप्रतिनिधिलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । बाराको कलैया उपमहानगरपालिका २७ की वडा सदस्य तारादेवी पासवानमाथि स्थानीयवासीले कुटपिट गरेका हुन् । पासवानमाथि स्थानीय जोगिन्द्र साहसहितको समूहले कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ । वडासदस्य पासवानमाथि गाउँकै एक महिलालाई अर्का पुरुषसँग भगाउन सहयोग गरेको आरोप लगाउँदै उक्त समूहले हातपात गरेको बताइएको छ ।

आक्रमणकारीहरुले महिला सदस्य पासवानलाई खम्बामा बाँधेर कुटपिट गरेका थिए । आक्रमण भएको सूचना पाएलगत्तै गएको प्रहरी टोलीले तारादेवीको उद्दार गरेको थियो । प्रहरीले तारादेवीलाई उद्दार गरी उपचारका लागि कलैया अस्पतालमा भर्ना गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले साहसहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध बारा जिल्ला अदालतमा समाजिक अपराध अन्तर्गत अभद्र तथा अमानवीय व्यवहार विरुद्धको मुद्दा दायर भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय