पछिल्लो समय सार्वजनिक भएको अडियो संवाद प्रकरणले नयाँ मोड लिएको छ। उक्त अडियोमा जोडिएका व्यापारी राजीव महासेठले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) सागर शमशेर राणामाथि गम्भीर आरोप लगाउँदै अडियो सामग्री नै सुनियोजित रूपमा तयार पारिएको दाबी गरेका छन।

सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममार्फत भाइरल बनेको उक्त अडियो सामग्रीले सुरुवातमा प्रहरी संगठनमाथि नै प्रश्न उठाएको थियो। तर महासेठले सार्वजनिक रूपमा आफ्नो धारणा राख्दै अडियोको वास्तविकता फरक रहेको बताएका हुन। उनका अनुसार वरिष्ठ सई राणाले योजनाबद्ध रूपमा आफूलाई फोन सम्पर्क गरी संवादलाई निर्देशनात्मक ढंगले अघि बढाएका थिए।

महासेठको दाबी अनुसार राणाले कुराकानीलाई आफूअनुकूल बोल्न सिकाएर अडियो तयार पार्ने रणनीति अपनाएका थिए। ‘मलाई फोन गरेर सागरले भावनात्मक ब्ल्याकमेल गरेर भन्न लागाए,’ उनले भने,‘पछि त्यसैलाई रेकर्ड गरेर सार्वजनिक गरियो, जसको उद्देश्य प्रहरी संगठनविरुद्ध नकारात्मक सन्देश प्रवाह गर्नु थियो।’

उनले थप आरोप लगाउँदै उक्त अडियो प्रकरण केवल व्यक्तिगत स्तरको विवाद नभई संगठनलाई नै बदनाम गर्ने योजनाको हिस्सा भएको बताए। विशेषगरी मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियालाई लक्षित गरी अफवाह फैलाउने प्रयास गरिएको उनको भनाइ छ। महासेठका अनुसार यसले प्रहरी संगठनको छवि धुमिल बनाउने मात्र होइन, नेतृत्वमाथि समेत अविश्वास सिर्जना गर्ने नियत देखिन्छ।

‘यो गतिविधि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनभित्रको अनुशासन र कमाण्ड प्रणालीलाई नै कमजोर पार्ने खालको देखिन्छ,’ एक प्रहरी अधिकृतले बताए। उनका अनुसार मधेश प्रदेशभित्र लामो समयदेखि विभिन्न जिल्लामा बस्दै आएका केही प्रहरी कर्मचारीहरू निरन्तर रूपमा संगठनको छवि धुमिल पार्ने गतिविधिमा संलग्न रहँदै आएको प्रारम्भिक रूपमा देखिएको छ।

ती अधिकृतका अनुसार यस्ता कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाउन खोजिँदा उल्टै त्यसलाई प्रभावित पार्न र नेतृत्वलाई कमजोर देखाउन सुनियोजित रूपमा घटनाहरू निर्माण गर्ने प्रवृत्ति देखिएको छ। ‘प्रदेश प्रमुखको कदमलाई कमजोर पार्ने उद्देश्यले योजनाबद्ध रूपमा एकपछि अर्काे कपोलकल्पित घटनाहरू सिर्जना गरिएको पाईएको छ।

प्राप्त सूचनाहरूका आधारमा यस प्रकरणमा प्रहरी उपरीक्षक (एसपी) तहसम्मको मिलेमतो हुन सक्ने आशंका समेत व्यक्त गरिएको ती अधिकृतको भनाइ छ।

मधेश प्रदेशमा लामो समयदेखि एउटै क्षेत्रमा जमेका यस्ता विवादित कर्मचारीहरूलाई समयमै अन्यत्र सरुवा नगर्दासम्म सुधारको अपेक्षा गर्न कठिन हुने देखिएको छ। ‘यस्ता प्रवृत्ति बोकेका व्यक्तिहरू प्रदेशभित्रै रहिरहेसम्म संस्थागत सुधार र सकारात्मक परिवर्तन सम्भव हुँदैन,’ एक प्रहरी स्रोतले भन्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय