विभिन्न जिल्लामा श्रृंखलाबद्ध रूपमा सुन चोरी गर्दै आएका पाकिस्तानी गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सुन चोरीमा संलग्न चार पाकिस्तानी नागरिक दुई महिला र दुई पुरुषलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार वैशाख १ गते कपिलवस्तुको चन्द्रौटाबाट दुई महिलालाई पक्राउ गरिएको थियो भने वैशाख ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई पुरुषलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्ने पुरुषमा २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफर रहमान रहेका छन।



प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार चन्द्रौटामा पक्राउ परेका महिलामाथि गरिएको सोधपुछका आधारमा गिरोहका अन्य सदस्यको पहिचान खुल्न गई थप दुई जनालाई पक्राउ गर्न सफल भएको हो। चैत १ गते शिवराज नगरपालिकास्थित चन्द्रौटाको एक सुनचाँदी पसलमा भएको चोरी घटनापछि सुरु गरिएको अनुसन्धानले संगठित गिरोहको जालो उजागर गरेको प्रहरीले जनाएको छ।
विमानस्थलबाट पक्राउ परेका व्यक्तिहरूबाट १७ हजार १ सय ३६ अमेरिकी डलर, ३२५ साउदी रियाल, १ हजार ६१५ बंगलादेशी टाका, ५ युएई दिराम र १८५ मलेसियन रिंगेट बरामद गरिएको छ। साथै इन्फिनिक्स स्मार्टफोन र आईफोन १६ मोबाइल एक–एक थान पनि फेला परेको प्रहरीले जनाएको छ।
यसअघि पक्राउ परेका २० वर्षीया बिबि कसलुम र ४१ वर्षीया सबाना सुन किन्ने बहानामा पसलमा प्रवेश गरी गहना हेर्दै चोरी गर्ने गरेको सिसिटिभी फुटेजमा देखिएको थियो। चोरीपछि उनीहरूले मास्कमाथि बुर्का प्रयोग गरी पहिचान लुकाउने गरेका थिए।
उनीहरूले चन्द्रौटास्थित पसलबाट सुनको झुम्का चोरी गरेका थिए। पसल सञ्चालकले गहना हराएको थाहा पाएपछि खोजी गर्दा केही पर उनीहरू फेला परेका थिए र प्रहरीको नियन्त्रणमा आएका थिए। उनीहरूबाट ३८ लाल सुनको झुम्का, ८६ हजार ४० रुपैयाँ नगद, पाकिस्तानी मुद्रा ३० र दुई थान पासपोर्ट बरामद गरिएको थियो।
अनुसन्धानका क्रममा उनीहरूले तौलिहवाको चोक बजारस्थित बागेश्वरी ज्वेलर्स र सच्चिदानन्द ज्वेलर्सबाट समेत सुन चोरी गरेको खुलेको छ। चैत २८ गते बागेश्वरी ज्वेलर्सबाट एक तोलाको सुन र चैत ३० गते सच्चिदानन्द ज्वेलर्सबाट करिब ३ लाख ८३ हजार रुपैयाँ बराबरको सुनको सिक्री चोरी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त गिरोहले इटहरी, मोरङ र बुटवल लगायतका स्थानमा समेत यस्तै प्रकृतिका चोरी गरेको भन्दै सम्बन्धित प्रहरी कार्यालयहरूमा उजुरी परेको छ।
प्रहरी उपरीक्षक आचार्यले संगठित अपराध नियन्त्रणका लागि प्रहरी सक्रिय रहेको उल्लेख गर्दै गिरोह योजनाबद्ध रूपमा विभिन्न जिल्लामा पुगेर चोरी गर्ने गरेको बताए। यस्ता अन्तरदेशीय अपराध नियन्त्रणका लागि निगरानी र कारबाही थप सशक्त बनाइएको उनले जानकारी दिए।
त्यसैगरी, प्रहरी नायब उपरीक्षक सिंहले अनुसन्धान अझै जारी रहेको जनाउँदै गिरोहका अन्य सदस्यहरूको खोजी कार्य अघि बढाइएको बताए।
पक्राउ परेका चारै जनालाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।






