काठमाडौं। योजनादेखि कार्यान्वयनसम्म स्पष्ट दृष्टि, प्रशासनिक चुस्तता र नागरिकमुखी सेवा प्रवाहको प्रभावकारी अभ्यासमार्फत बुढानीलकण्ठ नगरपालिकाले ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हासिल गरेको छ। नेपाल नगरपालिका संघले आफ्नो ३३औँ स्थापना दिवसका अवसरमा प्रदान गरेको उक्त सम्मानले नगरपालिकाको समग्र कार्यसम्पादनलाई राष्ट्रिय स्तरमा उदाहरणीय बनाएको छ।
यो उपलब्धिमा विशेषगरी प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको नेतृत्वदायी भूमिका निर्णायक मानिएको छ। आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाले अघि बढाएका विकास कार्यक्रमहरूलाई व्यवस्थित ढंगले कार्यान्वयन गर्ने, प्रशासनिक संयन्त्रलाई सक्रिय र उत्तरदायी बनाउने तथा सेवा प्रवाहलाई छरितो र पारदर्शी बनाउने कार्यमा बर्तौलाले प्रभावकारी समन्वय गरेका छन।



काठमाडौंमा आयोजित विशेष समारोहमा नगर प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा तथा प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले संयुक्त रूपमा पुरस्कार ग्रहण गरेका थिए। कार्यक्रममा देशभरका स्थानीय तहका प्रतिनिधि, सहरी विकासका विज्ञ, नीति निर्माता तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रशासनिक सुधारमा बर्तौलाको छाप
बुढानीलकण्ठ नगरपालिकाले पछिल्ला वर्षहरूमा देखाएको प्रगतिको मूल आधार प्रशासनिक सुधारलाई मानिएको छ। प्रमुख प्रशासकीय अधिकृत बर्तौलाको पहलमा कार्यालयभित्र कार्यसम्पादन मूल्याङ्कन प्रणालीलाई कडाइका साथ लागू गरिएको थियो। यस्तै सेवा प्रवाहका प्रक्रियाहरूलाई डिजिटल माध्यममा रूपान्तरण गरिएको छ भने नागरिक गुनासा व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाइएको छ । यसैगरी राजस्व संकलन र खर्च व्यवस्थापनमा पारदर्शिता कायम गरिएको छ।
यी सुधारहरूले सेवाग्राहीलाई छिटो, सहज र भरपर्दो सेवा उपलब्ध गराउन सहयोग पुगेको छ भने कर्मचारीतन्त्रलाई पनि जिम्मेवार र नतिजामुखी बनाएको छ।
योजनादेखि कार्यान्वयनसम्मको प्रभावकारी समन्वय
नगरपालिकाले अवलम्बन गरेको ‘योजना अनुसारको विकास’ अवधारणालाई व्यवहारमा उतार्न बर्तौलाले प्रमुख भूमिका खेलेका छन। पूर्वाधार निर्माणका योजनाहरू समयमै सम्पन्न गर्ने, गुणस्तर सुनिश्चित गर्ने र स्रोतको दुरुपयोग रोक्ने विषयमा प्रशासनिक निगरानीलाई कडा बनाइएको छ।
सडक स्तरोन्नति, ढल तथा खानेपानी व्यवस्थापन, सार्वजनिक स्थलहरूको संरक्षण तथा हरियाली प्रवद्र्धनका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन हुनुमा प्रशासनिक नेतृत्वको सक्रियता देखिन्छ।
डिजिटल सेवा र पारदर्शितामा फड्को
बर्तौलाको कार्यकालमा नगरपालिकाले डिजिटल सेवाको विस्तारमा उल्लेखनीय प्रगति गरेको छ। अनलाइन सेवा प्रणाली, दस्तावेज व्यवस्थापन, कर तिर्ने प्रणाली तथा सूचना प्रवाहलाई प्रविधिमैत्री बनाउँदै नागरिकलाई घरमै बसेर सेवा लिन सक्ने वातावरण सिर्जना गरिएको छ।
यससँगै, निर्णय प्रक्रिया र बजेट कार्यान्वयनमा पारदर्शिता बढाउँदै सार्वजनिक विश्वास मजबुत बनाइएको छ।
समावेशी र दिगो विकासतर्फ केन्द्रित
बुढानीलकण्ठ नगरपालिकाले भौतिक पूर्वाधारसँगै सामाजिक र वातावरणीय पक्षलाई पनि प्राथमिकतामा राखेको छ। स्थानीय समुदायको सहभागिता, वातावरण संरक्षणका कार्यक्रम तथा सामाजिक उत्तरदायित्वका गतिविधिहरूलाई संस्थागत रूपमा अघि बढाइएको छ।
यी सबै कार्यक्रमहरूको प्रभावकारी समन्वय र अनुगमनमा प्रमुख प्रशासकीय अधिकृतको भूमिका महत्वपूर्ण रहेको विश्लेषकहरू बताउँछन।
नेतृत्वको प्रतिक्रिया
पुरस्कार ग्रहणपछि नगर प्रमुख मिठाराम अधिकारीले बुढानीलकण्ठले हासिल गरेको यो उपलब्धि दीर्घकालीन योजना, अनुशासित कार्यान्वयन र नागरिक सहभागिताको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा अझ गुणस्तरीय पूर्वाधार विकास र दिगो शहरी व्यवस्थापनमा केन्द्रित रहने बताएका छन। उनले नगरलाई व्यवस्थित, सुरक्षित र आधुनिक सहरका रूपमा विकास गर्ने प्रतिबद्धता दोर्होयाएका छन।
त्यस्तै उप–प्रमुख अनिता लामाले यो सम्मानले नगरपालिकालाई अझ जिम्मेवार बनाएको बताउँदै सेवा प्रवाहलाई थप प्रभावकारी, समावेशी र नागरिकमैत्री बनाउनेतर्फ आफूहरू केन्द्रित रहने धारणा व्यक्त गरेकी छन। उनले महिला, बालबालिका तथा कमजोर वर्ग लक्षित कार्यक्रमहरूलाई अझ सुदृढ बनाउँदै विकासलाई सबैको पहुँचमा र्पुयाउने लक्ष्य लिइएको स्पष्ट पारेकी छन।
पुरस्कार ग्रहणपछि प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले भने,‘यो सम्मान सम्पूर्ण बुढानीलकण्ठवासी, जनप्रतिनिधि र कर्मचारीहरूको साझा प्रयासको परिणाम हो। हामीले सुशासन, पारदर्शिता र दिगोपनलाई केन्द्रमा राखेर काम गरेका छौँ। आगामी दिनमा अझ गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा केन्द्रित रहनेछौँ।’
अन्य स्थानीय तहका लागि उदाहरण
स्थानीय तहबीच प्रतिस्पर्धा बढ्दै गएको वर्तमान सन्दर्भमा बुढानीलकण्ठ नगरपालिकाले प्रस्तुत गरेको प्रशासनिक मोडेललाई अन्य नगरपालिकाले समेत अनुकरणीय अभ्यासका रूपमा लिन थालेका छन। योजनाको स्पष्टता, कार्यान्वयनको दृढता र प्रशासनिक नेतृत्वको दक्षताले कसरी उत्कृष्ट नतिजा दिन सक्छ भन्ने उदाहरणका रूपमा बुढानीलकण्ठ स्थापित भएको छ।
‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ प्राप्तिसँगै बुढानीलकण्ठ नगरपालिका अब केवल विकासशील स्थानीय तह मात्र नभई सुशासन, नवप्रवर्तन र प्रभावकारी प्रशासनिक व्यवस्थापनको सफल नमूनाका रूपमा उभिएको छ—जहाँ प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको भूमिका केन्द्रमा देखिन्छ।







