नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन नजिकिँदै गर्दा मधेस प्रदेशबाट केन्द्रीय कार्यकारिणी सदस्य पदका लागि मोहन प्रसाद शर्मा (लामिछाने)ले उम्मेदवारी घोषणा गरेका छन। जीतपुरसिमरा उद्योग वाणिज्य संघ, बाराका अध्यक्षसमेत रहेका शर्माले मधेस प्रदेशको भूगोल तर्फबाट उम्मेदवारी दिएका हुन।

उम्मेदवारी घोषणा गर्दै शर्माले देशको कमजोर बन्दै गएको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको भूमिका सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन। उनले उद्योगी–व्यवसायीका समस्यालाई नीति तहमा र्पुयाउँदै समाधान खोज्न महासंघभित्र सक्रिय भूमिका खेल्ने बताएका छन। ‘व्यवसायीहरूको आत्मविश्वास बढाउने, लगानीमैत्री वातावरण बनाउने र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा नीति निर्माण तहमा सशक्त पैरवी गर्ने मेरो प्राथमिकता हुनेछ,’ उनले भने।

शर्माले विशेषगरी मधेस प्रदेशका उद्योगी–व्यवसायीले भोगिरहेका चुनौतीहरू जस्तै पूर्वाधार अभाव, वित्तीय पहुँचको समस्या, नीतिगत अस्थिरता तथा बजार व्यवस्थापनका कमजोरीलाई महासंघमार्फत उठाउने र समाधानतर्फ पहल गर्ने प्रतिबद्धता जनाएका छन। साथै, स्थानीय उद्योग वाणिज्य संघहरूबीच समन्वय र सहकार्य बढाउँदै आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्यसमेत उनले राखेका छन।

व्यवसायी समुदायमा लोकप्रिय छवि बनाएका शर्मालाई मधेस प्रदेशका विभिन्न उद्योग वाणिज्य संघ तथा व्यवसायीहरूले अत्यधिक मतले विजयी गराउन आग्रह गर्दै आएका छन। उनको उम्मेदवारीले मधेस प्रदेशको प्रतिनिधित्व अझ बलियो हुने विश्वास व्यक्त गरिएको छ।

गोर्खा जिल्लाको आरुचनौटे–३, आरुटारमा वि.सं २०३१ जेठ ५ गते जन्मिएका शर्मा हाल बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरामा स्थायी रूपमा बसोबास गर्दै आएका छन। उनी लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय रहँदै आएका छन। होटल व्यवसाय सञ्चालनसँगै ट्राभल्स तथा टुर अपरेसनमा संलग्न रहँदै उनले पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान र्पुयाएका छन।

संस्थागत अनुभवका हिसाबले पनि शर्मा एक अनुभवी व्यक्तित्वका रूपमा चिनिन्छन। उनी हाल जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्षका रूपमा कार्यरत छन। यसका साथै, नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशअन्तर्गत पर्यटन तथा हवाई यातायात समितिको सभापति भएर काम गरिरहेका छन। उनी नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) मधेस प्रदेशका अध्यक्षसमेत हुन।

शर्माले राष्ट्रियस्तरका विभिन्न अभियान तथा समितिहरूमा समेत सक्रिय भूमिका निर्वाह गरेका छन। ‘भिजिट नेपाल २०२०’ अभियान अन्तर्गत मधेस प्रदेशमा पर्यटन प्रवद्र्धनका विविध कार्यक्रम सञ्चालनमा उनले नेतृत्वदायी भूमिका खेलेका थिए। त्यस्तै, कोभिड–१९ महामारीपछि पर्यटन क्षेत्र गम्भीर रूपमा प्रभावित भएको अवस्थामा उनले पर्यटन पुनरुत्थानका लागि प्रदेश सरकार, स्थानीय तह तथा नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए।

उनको अनुभव, सक्रियता र निजी क्षेत्रप्रति प्रतिबद्धताका कारण उनी महासंघको केन्द्रीय नेतृत्वमा प्रभावकारी भूमिका खेल्न सक्षम उम्मेदवारका रूपमा हेरिएको छ।

शर्माले आफ्नो उम्मेदवारीमार्फत महासंघलाई अझ गतिशील, समावेशी र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिएको बताएका छन। ‘महासंघ केवल प्रतिनिधित्व गर्ने संस्था मात्र नभई व्यवसायीहरूको वास्तविक आवाज बन्नुपर्छ,’ उनले भने,‘त्यसका लागि म निरन्तर रूपमा काम गर्नेछु।’

उनको उम्मेदवारीले मधेस प्रदेशका उद्योगी–व्यवसायीहरूमा नयाँ आशा र उत्साह थपिएको देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय