गायन सम्राट रामकृष्ण ढकालको निर्माणमा बनेको नेपाली चलचित्र मालती मंगलेको शीर्षक गीत बुधबार सार्वजनिक गरिने भएको छ। निर्माण पक्षका अनुसार गीत बुधबार दिउँसो २ बजे क्यूएफएक्स सिनेमामा एक विशेष कार्यक्रम आयोजना गरी सार्वजनिक गरिने तयारी गरिएको छ।
सार्वजनिक हुन लागेको शीर्षक गीतमा चर्चित गीतकार आनन्द अधिकारीको शब्द रचना रहेको छ भने संगीत उज्वल सागरले भरेका छन। गीतमा स्वयं गायन सम्राट ढकालसँगै लोकप्रिय गायिका रजना रिमालको स्वर सुन्न पाइनेछ। निर्माण टिमका अनुसार गीतले चलचित्रप्रति दर्शकको उत्साह अझ बढाउने विश्वास गरिएको छ।



चलचित्र आगामी वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। यसअघि सार्वजनिक गरिएको पोस्टरले पनि दर्शकमाझ राम्रो प्रतिक्रिया पाएको थियो। पोस्टरमा मुख्य कलाकार विजय बराल र वर्षा राउतलाई आत्मीय र प्रेमिल मुद्रामा प्रस्तुत गरिएको छ, जसले फिल्मको भावनात्मक पक्षलाई झल्काउँछ।
पोस्टर डिजाइनर विजय बस्यालले तयार पारेको दृश्य संयोजनले ग्रामीण परिवेश, माटोको सुगन्ध र मौलिक नेपालीपन झल्काउने प्रयास गरेको देखिन्छ। यसले फिल्म एक सामाजिक तथा पारिवारिक प्रेमकथामा आधारित रहेको संकेत दिन्छ।
फिल्मका निर्देशक प्रकु पाण्डेयले यसलाई विशुद्ध नेपाली परिवेशमा आधारित पारिवारिक प्रेमकथा भएको बताएका छन। कथा स्वयं निर्देशक पाण्डेयले लेखेका हुन भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन।
मालती मंगले रानी म्युजिक इन्टरनेशनल प्रा.लि. को ब्यानरमा युनी इन्टरटेनमेन्ट सँगको सहकार्यमा निर्माण भएको हो। कार्यकारी निर्माता सागर ज्ञवाली रहेका छन भने सह–निर्माताहरूमा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरूङ र स्वीकृति बस्नेत छन।
कलाकारहरूको टिममा विजय बराल र वर्षा राउतका साथै मेक्सम गौडेल मुख्य भूमिकामा देखिनेछन। साथै प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरूङ र सागर भट्टराईलगायत कलाकारहरूको पनि अभिनय रहनेछ।
प्राविधिक पक्षतर्फ छायांकन महेश पौडेलले गरेका छन भने सम्पादन रोमी मोजेज, रंग संयोजन कृष्ण भण्डारी र ध्वनि मिश्रण डिकेश खड्गीले गरेका छन।
चलचित्रको डिजिटल वितरण ओएसआर डिजिटलले गर्नेछ भने प्रदर्शनका लागि आरआर फिल्म्स मार्फत देशभर हलहरूमा रिलिज गरिने जनाइएको छ।







