डिभिजन वन कार्यालय बाराको आयोजनामा वन डढेलो सचेतना सप्ताह औपचारिक रूपमा सुरु भएको छ। सप्ताहअन्तर्गत पहिलो दिन आइतबार जिल्लाभरि व्यापक जनचेतनामूलक र्‍याली आयोजना गरिएको हो, जसले वन डढेलो नियन्त्रणका लागि समुदायस्तरमै सचेतना फैलाउने उद्देश्य राखेको छ।

दर्जनौं सवारी साधनसहित बिहान निजगढ नगरपालिकाको भमरा पुलबाट सुरु गरिएको र्‍याली जिल्लाका विभिन्न क्षेत्रहरू हुँदै अघि बढेको थियो। र्‍याली कोल्हवी, ककरी, पर्साैना, बर्डहवा, डुमरवाना, सिमरा, पथलैया, अमलेखगञ्ज, चकरी, रतनपुर, बागदेव र सिगौल हुँदै पुनः निजगढमै आएर समापन गरिएको थियो।

र्‍यालीका क्रममा सहभागीहरूले वन डढेलो नियन्त्रणसम्बन्धी विभिन्न सन्देशहरू बोकेका प्लेकार्ड तथा ब्यानर प्रदर्शन गरेका थिए। ‘वन जोगाऔं, भविष्य बचाऔं’, ‘डढेलो नियन्त्रण सबैको दायित्व’ जस्ता नारामार्फत स्थानीय बासिन्दामा चेतना अभिवृद्धि गर्ने प्रयास गरिएको थियो। कार्यक्रमको समन्वय रेन्जर निरज पोखरेलले गरेका थिए।

समापन कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय बाराका प्रमुख तथा डिएफओ राजिवकुमार झाले नेपालमा हुने कुल वन डढेलोमध्ये ९० प्रतिशतभन्दा बढी घटना मानवीय कारणले हुने गरेको जानकारी दिए। उनले लापरवाही, अज्ञानता तथा स्वार्थका कारण वनमा आगो लगाइने गरेको उल्लेख गर्दै यसको रोकथामका लागि समुदायस्तरमै सचेतना अपरिहार्य रहेको बताए।

उनका अनुसार गोठालाहरूले घाँसमा नयाँ पालुवा पलाउने भ्रममा आगो लगाउने तथा केही व्यक्तिहरूले वन्यजन्तुको चोरी शिकारी सहज बनाउन पनि डढेलो लगाउने गरेका छन। यस्ता गतिविधिले वन विनाशसँगै जैविक विविधता, वन्यजन्तु र वातावरणमा गम्भीर असर पार्ने भएकाले सबै नागरिक सचेत हुनुपर्ने उनले जोड दिए।

वनजंगलमा आगजनी गर्ने कार्य वन ऐन अनुसार गम्भीर अपराध भएको उल्लेख गर्दै यस्ता कार्यमा संलग्न व्यक्ति वा समूहलाई कानुनअनुसार कडा कारबाही गरिने उनले चेतावनी दिए।

कार्यक्रममा वन अधिकृतहरू विरेन्द्र यादव, ललन राउत, वर्षा लामा, शर्मिला नेपाल, राजकिशोर उपाध्याय लगायत रेन्जर, वन कर्मचारी, सशस्त्र वन रक्षक, सामुदायिक वन उपभोक्ता समूह, साझेदारी वन व्यवस्थापन समितिका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।

जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समूह तथा डिभिजन वन कार्यालय मातहतका निकायहरूबाट करिब डेढ सयभन्दा बढी व्यक्तिको सहभागिता रहेको जनाइएको छ।

‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नारासहित देशभर एकसाथ ‘वन डढेलो व्यवस्थापन सप्ताह’ सञ्चालन भइरहेको छ। यस सप्ताहमार्फत जनचेतना अभिवृद्धि, पूर्वतयारी सुदृढीकरण तथा डढेलो नियन्त्रणका उपायहरूबारे जानकारी प्रवाह गरिने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय