प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा जिल्लामा उल्लेख्य सङ्ख्यामा मत बदर भएको पाइएको छ। जिल्ला निर्वाचन कार्यालय बाराले सार्वजनिक गरेको विवरण अनुसार यस पटकको निर्वाचनमा जिल्लाभर १९ हजार ७९५ मत बदर भएका छन। मतदाताको उत्साहजनक सहभागिता देखिए पनि बदर मतको सङ्ख्याले मतदाता शिक्षा अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको संकेत गरेको निर्वाचन कार्यालयले जनाएको छ।
बारा जिल्लामा कुल ४ लाख ६५ हजार ७८४ मतदाता रहेका थिए। तीमध्ये २ लाख १० हजार ९ महिला, २ लाख ५५ हजार ७६३ पुरुष र १२ अन्य मतदाता रहेका छन। जिल्लाभर निर्वाचनका लागि ३०५ मतदान स्थल र ५८७ मतदान केन्द्र तोकिएको थियो। चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उल्लेख्य सङ्ख्यामा मत खसे पनि ठूलो सङ्ख्यामा मत बदर भएको तथ्यांकले देखाएको छ।



जिल्ला निर्वाचन अधिकारी नवीन चौधरीका अनुसार मतपत्रमा सही तरिकाले छाप नलगाउने, एकभन्दा बढी चुनाव चिह्नमा छाप लगाउने, मतपत्रको बीच भागभन्दा बाहिर छाप पर्ने तथा कतिपय अवस्थामा मतपत्रमा ल्याप्चे वा अन्य चिन्ह लगाउने कारणले मत बदर हुने गरेको पाइएको छ। मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिए पनि त्यसको प्रभाव सबै मतदातासम्म समान रूपमा पुग्न नसकेको उनले बताए।
निर्वाचन क्षेत्र नम्बर १ मा ५ हजार २९६ मत बदर भएका छन। यस क्षेत्रमा कुल १ लाख २३ हजार ९८५ मतदाता रहेका थिए। तीमध्ये ८० हजार ५८१ मत खसेको थियो। खसेको मतमध्ये ७५ हजार २८५ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
यो क्षेत्रमा कोल्हवी नगरपालिका, निजगढ नगरपालिका, बारागढी गाउँपालिका, आदर्श कोतवाल गाउँपालिका र सिम्रौनगढ नगरपालिकाका गरी ५ पालिका र ४८ वडा समावेश छन। यहाँ ८६ मतदान स्थल र १६१ मतदान केन्द्र कायम गरिएको थियो।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा ३ हजार ७६३ मत बदर भएको छ। यस क्षेत्रमा १ लाख १३ हजार ८३९ मतदाता रहेका थिए। तीमध्ये ७६ हजार ५२४ मत खसेको थियो। खसेको मतमध्ये ७२ हजार ७६१ मत सदर भएको छ।
यस क्षेत्रमा करैयामाई गाउँपालिका, महागढीमाई नगरपालिका, देवताल गाउँपालिका, सुवर्ण गाउँपालिका, पचरौता नगरपालिका तथा कोल्हवी नगरपालिकाको वडा नम्बर ८ गरी ६ पालिका र ४४ वडा पर्दछन। यहाँ ८२ मतदान स्थल र १४५ मतदान केन्द्र तोकिएको थियो।
निर्वाचन क्षेत्र नम्बर ३ मा ४ हजार ६९५ मत बदर भएको तथ्यांक छ। यहाँ १ लाख १३ हजार ५२१ मतदाता रहेकामा ७५ हजार ९०० मत खसेको थियो। तीमध्ये ७१ हजार २०५ मत सदर भएका छन।
यस क्षेत्रमा कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका तथा फेटा गाउँपालिकाका केही वडाहरू गरी ३ पालिका र ३७ वडा पर्दछन। यस क्षेत्रमा ७६ मतदान स्थल र १४४ मतदान केन्द्र रहेका थिए।
सबैभन्दा बढी बदर मत निर्वाचन क्षेत्र नम्बर ४ मा देखिएको छ। यस क्षेत्रमा ६ हजार ४१ मत बदर भएका छन। यहाँ १ लाख १४ हजार ४३९ मतदाता रहेकामा ८० हजार ६७८ मत खसेको थियो। खसेको मतमध्ये ७४ हजार ६३७ मत सदर भएको छ।
यस क्षेत्रमा जीतपुरसिमरा उपमहानगरपालिका, प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका, फेटा गाउँपालिका, विश्रामपुर गाउँपालिका तथा कलैया उपमहानगरपालिकाको वडा नम्बर १७ गरी ६ पालिका र ३८ वडा पर्दछन। यहाँ ६१ मतदान स्थल र १३७ मतदान केन्द्र तोकिएका थिए।
जिल्लाभरको तथ्यांक हेर्दा मतदाताको सहभागिता भने उत्साहजनक देखिएको छ। चारवटै निर्वाचन क्षेत्रमा ठूलो सङ्ख्यामा मत खसेको छ। तर बदर मतको सङ्ख्या पनि उल्लेख्य भएकाले मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेको निर्वाचन कार्यालयका अधिकारीहरूले बताएका छन।
निर्वाचन अधिकारी चौधरीका अनुसार आगामी निर्वाचनमा मत बदरको सङ्ख्या घटाउन गाउँ–टोल स्तरसम्म मतदाता शिक्षा कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । विशेषगरी मतदान गर्ने तरिका, मतपत्रमा छाप लगाउने सही विधि र मतपत्रको प्रयोगबारे मतदातालाई अझ स्पष्ट रूपमा जानकारी दिन सके बदर मतको सङ्ख्या घटाउन सकिने उनको भनाइ छ ।






