प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बारा जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ। हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार बाराका चारैवटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले अग्रता लिएका छन।
निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार गणेश धिमालले अग्रता कायम राखेका छन। पछिल्लो मतपरिणाम अनुसार उनले उल्लेखनीय मतान्तरसहित प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछाडि पार्दै अग्रस्थानमा रहेका छन।



त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाका उम्मेदवार चन्दन कुमार सिंह अग्रस्थानमा रहेका छन।
यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा पनि रास्वपाका उम्मेदवारहरूले सुरुवाती चरणदेखि नै अग्रता कायम राखेका छन।
एमाले, कांग्रेस, जनता समाजवादी पार्टीको पकट रहेका बाराका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाले सुरुवाती चरणमै अग्रता लिएपछि जिल्लाको राजनीतिक माहोल थप चासोको विषय बनेको छ।
बारा-१ मा गणेश धिमालको फराकिलो अग्रता
बारा निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा रास्वपाका उम्मेदवार गणेश धिमालले फराकिलो अग्रता कायम गरेका छन। प्रारम्भिक चरणदेखि नै अग्रता लिएका धिमालले पछिल्लो मतपरिणामसँगै आफ्नो अग्रता अझै विस्तार गरेका छन।
निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त पछिल्लो विवरण अनुसार धिमालले ११ हजार ४१ सय २३ मत प्राप्त गरेका छन। उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार अच्युतप्रसाद मैनाली ३ हजार १ सय ४५ मतसहित दोस्रो स्थानमा रहेका छन।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार शम्भुबहादुर बुढाथोकी २ हजार ७ सय ३२ मतसहित तेस्रो स्थानमा छन भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार सन्तोष दंगाल ६ सय १ मतसहित चौथो स्थानमा रहेका छन। जनता समाजवादी पार्टी (जसपा) का रामबाबु प्रसाद यादव ४ सय ३० मत प्राप्त गरेका छन।
बारा-२ मा रास्वपाका चन्दन कुमार सिंह अग्रस्थानमा
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चन्दन कुमार सिंह अग्रस्थानमा रहेका छन्।
पछिल्लो मतपरिणाम अनुसार सिंहले २ हजार ४९ मत प्राप्त गरेका छन। उनलाई पछ्याउँदै नेकपा (एमाले)का उम्मेदवार बलबिर प्रसाद चौधरी ७ सय ६६ मतसहित दोस्रो स्थानमा रहेका छन।
त्यसैगरी जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामकिशोर प्रसाद यादवले ७ सय २० मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन। नेपाली कांग्रेसका उम्मेदवार भैयाराम प्रसाद यादवले २ सय ६८ मत पाएका छन भने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार रमेश प्रसाद यादवले ६७ मत प्राप्त गरेका छन।
बारा-३ मा अरबिन्द साह जितको नजिक
यसैगरी बारा निर्वाचन क्षेत्र नम्बर ३ मा पनि रास्वपाका उम्मेदवार अरबिन्द साहले सानदार अग्रता कायम गरेका छन। हालसम्म कुल ३१ हजार २ सय ८० मतगणना सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ।
साहले १८ हजार १ सय ३९ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन। उनलाई पछ्याउँदै नेपाली कांग्रेसका फरमुल्लाह मंसुर ४ हजार ५ सय ६२ मतसहित दोस्रो स्थानमा छन।
त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) का रामवाबु कुमार यादव २ हजार ६ सय ५२ मतसहित तेस्रो स्थानमा छन भने जनमत पार्टीका प्रमोद प्रसाद गुप्ता १ हजार ९ सय ७२ मतसहित चौथो स्थानमा रहेका छन। नेकपा एमालेकी ज्वाला कुमारी साहले १ हजार ३ सय ९० मत प्राप्त गरेकी छन।
अन्य उम्मेदवारमध्ये नेपाली कम्युनिस्ट पार्टीका भरत प्रसाद साहले ३ सय ९३ मत प्राप्त गरेका छन भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्र प्रसाद जैसवारले १ सय ३२ मत प्राप्त गरेका छन। गणना भएका कुल मतमध्ये १ हजार ७ सय ७६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बारा-४ मा रहबर अन्सारीको सानदार अग्रता
बारा निर्वाचन क्षेत्र नम्बर ४ मा पनि रास्वपाका उम्मेदवार रहबर अन्सारीले अग्रता कायम गरेका छन। प्रारम्भिक मतगणनाबाटै अग्रता बनाएका अन्सारीले पछिल्लो मतपरिणामसम्म पनि अग्रता कायम राखेका छन।
पछिल्लो मतपरिणाम अनुसार अन्सारीले १० हजार ९ सय १८ मत प्राप्त गरेका छन। उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ ‘किसान’ २ हजार ४ सय १८ मतसहित दोस्रो स्थानमा रहेका छन भने नेपाली कांग्रेसका उम्मेदवार श्यामबाबु गुप्ता २ हजार १ सय ६३ मतसहित तेस्रो स्थानमा छन।
त्यसैगरी नेपाल जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार सन्जु साह कानु १ हजार २ सय ३ मतसहित चौथो स्थानमा रहेका छन। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अजय कुशवाहाले ३ सय ९० मत प्राप्त गरेका छन।






