आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धार्मिक सद्भाव भड्काउने तथा शान्ति सुरक्षामा खलल र्पुयाउने प्रयास भएको आशंकामा पर्सामा दुई छुट्टाछुट्टै घटनामा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गएराति बुधबार बिहान करिव ३ बजेको समयमा पर्सागढी नगरपालिका–३ बडनिहार बजारस्थित संयुक्त चेकिङका क्रममा बा १० च १२५० नम्बरको गाडी जाँच गर्दा टेपले बेरिएको चौपाटे आकारको टिनको बक्साभित्र शंकास्पद सामग्री फेला परेको थियो। गाडी बडनिहारतर्फ आइरहेको अवस्थामा रोकी जाँच गर्दा उक्त सामग्री भेटिएपछि गाडीमा सवार चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।



नियन्त्रणमा लिइएकामध्ये पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१७ निवासी ४६ वर्षीय मनोज कुमार चौधरी, नेपाल कम्युनिस्ट पार्टी क्षेत्र नम्बर २ का उम्मेदवार, बारा जिल्ला प्रसौनी गाउँपालिका–४ निवासी २६ वर्षीय सहाब आलम अन्सारी, धनुषा जिल्ला धनुषाधाम नगरपालिका–९ निवासी ३० वर्षीय सुरुज काकी तथा पर्सा जिल्ला पर्सागढी नगरपालिका–३ निवासी ६८ वर्षीय सत्यनारायण थारु रहेका छन।
यसैगरी मगलबार राति करिब १० बजेको समयमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ इनर्वागाउँ स्थित विशेष सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले ३ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट ९ थान सुतली बम, एक थान सुँगुरको टाउको तथा करिब १० मिटर वायरिङ तार बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरु सुँगुरको टाउको मस्जिदमा फ्याँकेर धार्मिक सद्भाव भड्काउने तयारीमा रहेका थिए। समयमै सुरक्षाकर्मी परिचालन गरिएकाले सम्भावित अप्रिय घटना टरेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलियाले जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि विस्फोटक पदार्थ सम्बन्धी कसूर, सार्वजनिक शान्तिविरुद्धको कसूर तथा निर्वाचन सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइनेछ।
मधेश प्रदेश प्रहरी कार्यालयले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेशभर सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ। धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल र्पुयाउने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिँदै प्रहरीले यस्ता गतिविधिमा संलग्नमाथि कडा कारबाही गरिने मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलियाले जानकारी दिए।






