दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न पहिलो चरणको खेलमा वडा ७ र १३ का टिम विजयी भएका छन् ।

पहिलो खेलमा वडा नम्बर ७ ले वडा नम्बर ४ लाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल यात्रा सुनिश्चित गरेको हो । खेलको दोस्रो हाफको ६ औं मिनेटमा वडा ७ का जर्सी नम्बर ९ का शिभम् सञ्जेलले गरेको एक मात्र गोल नै निर्णायक बन्यो। उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक गोल गरेका सञ्जेल प्रतियोगिताको म्यान अफ दि म्याच घोषित भए । उनलाई स्वर्गीय विकल रेग्मीकी आमा कमला रेग्मीले ट्रफी प्रदान गरिन् ।

त्यसैगरी दोस्रो खेलमा वडा ११ र वडा १३ बीच भएको प्रतिस्पर्धात्मक भिडन्तमा वडा १३ विजयी भएको छ । विपक्षी टिमका खेलाडीले डिबक्सभित्र ह्याण्ड गरेपछि प्राप्त पेनाल्टी अवसरलाई टिम क्याप्टेन जर्सी नम्बर ६ का समिर गोङ्गवाले सदुपयोग गर्दै निर्णायक गोल गरे । सोही गोलको आधारमा वडा १३ ले जित हात पार्यो । उत्कृष्ट प्रदर्शन गरेका गोङ्गवा पनि म्यान अफ दि म्याच घोषित भए । उनलाई कमला रेग्मी र निजगढ नगर खेलकुद विकास समितिका सदस्य तथा प्रशिक्षक धनबहादुर लामाले संयुक्त रूपमा ट्रफी प्रदान गरे ।

आज सम्पन्न दुबै खेलमा मुख्य रेफ्रीका रूपमा लिलाम्बर चौधरी र नीलकमल चौधरी रहेका थिए भने सहायक रेफ्री राजु चौधरी र फोर्थ अफिसियल रियाजुल स्लाम रहेका थिए ।

बुधबार हुने क्वाटरफाइनलअन्तर्गत पहिलो खेल दिउँसो २ बजे वडा नम्बर ३ र वडा नम्बर ९ बीच तथा दोस्रो खेल दिउँसो ३ बजे वडा नम्बर १ र वडा नम्बर १० बीच निजगढ नगरपालिका–९ स्थित शहीद हिरालाल रंगशालामा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय