बारा निर्वाचन क्षेत्र नं. ३ मा शुक्रबार घरदैलो कार्यक्रमका क्रममा चुनावी आचारसंहिता विपरीत गतिविधि भएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले एमालेकी उम्मेदवार तथा पूर्वमन्त्री ज्वालाकुमारी साहको प्रचार सामग्री च्यात्नुका साथै पोस्टरको अनुहारमा रास्वपाको चुनाव चिन्ह घण्टीको स्टिकर टाँसेकोमा एमालेले आपत्ति जनाएको छ।
एमालेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी बारा क्षेत्र नं. ३ का उम्मेदवार अर्बिन्द साह जीतपुरसिमरा उपमहानगरपालिका–१६ मा घरदैलो कार्यक्रममा सहभागी भइरहेका बेला उक्त घटना भएको हो। सो क्रममा टाँसिएका पर्चा च्यातिएको र उम्मेदवार साहको पोस्टरको अनुहार र चुनाव चिन्हमा घण्टीको स्टिकर टाँसिएको बताइएको छ।



एमाले जीतपुरसिमराले नगर कमिटीले यसलाई योजनाबद्ध रूपमा गरिएको अराजक गतिविधि भन्दै विरोध जनाएका छन। एमाले जीतपुरसिमराले शान्तिपूर्ण रूपमा अघि बढिरहेको निर्वाचनलाई हार्ने डरले मुडभेडतर्फ धकेल्ने प्रयास गरिएको जनाएको छ।
घरदैलोका क्रममा आफ्ना उम्मेदवारको तस्बीर र चुनाव चिन्हमाथि घण्टी टाँस्नु अराजनीतिक तथा निन्दनीय कार्य भएको भएको छ, नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाहले भने,‘यस्ता गतिविधिले स्वस्थ प्रतिस्पर्धा होइन, अस्थिरता र द्वन्द्व निम्त्याउने काम गर्छ हाम्रो उम्मेदवारको प्रचार सामग्री च्यातेर अनुहारमा घण्टीको स्टिकर टाँस्नु लोकतान्त्रिक प्रतिस्पर्धाको मर्मविपरीत कार्य हो।’ उनले भने,‘यसप्रति सम्बन्धित पक्षले सार्वजनिक रूपमा माफी मागी शान्तिपूर्ण चुनावी वातावरण निर्माणमा सहयोग गर्नुपर्छ।’
एमालेले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न प्रशासनसँग माग गरेको छ। साथै, सबै राजनीतिक दल र कार्यकर्तालाई संयमता अपनाउँदै आचारसंहिता पालना गर्न आग्रह गरिएको छ।
उक्त घटनाबारे रास्वपाका बारा क्षेत्र नं. ३ का उम्मेदवार अर्बिन्द साहका सहयोगी रुपु साहले भने आफूहरू उक्त घटनाबारे जानकार नभएको बताएका छन। उनले भने,‘हामीलाई त थाहा नै छैन, त्यस्तो त नगर्नुपर्ने हो, के रहेछ बुझौँला।’
निर्वाचन नजिकिँदै जाँदा यस्ता घटनाले चुनावी वातावरणमा तनाव थप्ने चिन्ता स्थानीय स्तरमा व्यक्त गरिएको छ।






