बैतडी। जन्ती लिएर फर्किँदै गरेको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ भने ३४ जना घाइतेको उपचार भइरहेको छ। बैतडीको पुरचौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किँदै गरेको बस दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएकामध्ये २५ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने पाँच जना गम्भीर घाइतेलाई थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। यस्तै चार जनाको बझाङको देउलेक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने एक जना उपचारपछि डिस्चार्ज भएका छन।



दुर्घटनामा घाइते तथा मृतकहरू बेहुला–बेहुलीका आफन्त तथा नातेदार रहेको प्रहरीले जनाएको छ। मृतकहरूमा सहोदर दाजुभाइ, बुवा–छोरा, छोरी–ज्वाइँ लगायत नजिकका आफन्त रहेका छन।
प्रहरीका अनुसार दुर्घटनामा परी घटनास्थलमै ६ जनाको ज्यान गएको थियो भने दुई जनाको कोटिला स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो। यस्तै डडेल्धुरा अस्पताल लैजाँदै गर्दा थप पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० बर्षीय केशब राज जोशी, १३ बर्षीय अशोक राज जोशी, ३५ बर्षीय बसन्त जोशी, ४१ बर्षीय विष्णुदत्त जोशी, ४२ बर्षीय नरेन्द्रराज जोशी, १७ बर्षीय विसनदत्त जोशी, २८ बर्षीय दिपकराज जोशी र ४६ बर्षीय किसनदत्त जोशी रहेका छन।
त्यस्तै बझाङ केदारस्युँ गाउँपालिका–७ का ६० बर्षीय मोहन देव भट्ट र २६ बर्षीय केशवराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिका–७ का ४० बर्षीय बसन्त राज रतला, बैतडी पुरचौडी नगरपालिका–७ की ४० बर्षीया पुष्पा अवस्थी तथा १५ बर्षीया सुशील जोशी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनाग्रस्त पवनदूत यातायातको सु. प. प्र. ०२–००१ ख १११९ नम्बरको बस उकालो घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिए। उनका अनुसार बसमा ४९ जना सवार रहेका थिए।
प्रारम्भिक अनुसन्धानका क्रममा बस ओभरलोड भएका कारण उकालो घुम्तीमा ब्याक भएर दुर्घटना भएको हुन सक्ने देखिएको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक रायले बताए। ‘बसमा अत्यधिक यात्रु थिए, उकालो घुम्तीमा ब्याक हुँदा दुर्घटना भएको देखिन्छ,’ उनले भने,‘यस विषयमा थप अनुसन्धान भइरहेको छ।’
दुर्घटनापछि बस चालक भिमदत्त नगरपालिका–७ हल्दुखाल निवासी बिरेन्द्र बुढालाई बतैडी प्रहरीले नियन्त्रणमा लिएको छ।






