काठमाडौँ। निर्वाचन प्रहरीको छनोट परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूको सम्पर्क कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बुधबार बिहान १० बजे सम्पर्कका लागि उम्मेदवारहरूलाई बोलाएको थियो, तर अर्काे सूचना नभएसम्म कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार,‘निर्वाचन प्रहरीको सम्पर्क र सम्बन्धित सबै कार्यक्रमहरू हाल अनिश्चितकालका लागि स्थगित गरिएको छ। यसबारे थप सूचना समयमै सार्वजनिक गरिनेछ।’

त्यसैगरी, सोमबार प्रकाशित निर्वाचन प्रहरी सम्बन्धी परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूको सम्पर्क मिति र समयबारे सूचना जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आधिकारिक फेसबुक पेजमार्फत प्रकाशित गरिने जनाइएको छ।

जिल्ला प्रहरी कार्यालयले उम्मेदवारहरूलाई सबै जानकारीको लागि आधिकारिक सूचना मात्रलाई आधार मान्न आग्रह गरेको छ।

उक्त निर्णयले उम्मेदवारहरूलाई तयारी र सम्पर्कमा सहजीकरणको लागि समय उपलब्ध गराउने उद्देश्य राखेको प्रहरीले जनाएको छ।

सूचनामा प्रहरी निरीक्षक झलक प्रसाद शर्माको हस्ताक्षर रहेको छ।

यस्तै सप्तरी प्रहरीले समेत निर्वाचन प्रहरीको सम्पर्क मिति संशोधन सम्बन्धी सूचना प्रकाशन गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षार्थ भर्ना हुने निर्वाचन प्रहरीहरूको सम्पर्क मिति संशोधन गरिएको हो।

नेपाल प्रहरी तर्फ उत्तीर्ण भएका मुख्य उम्मेदवारहरूलाई भर्ना छनौट तथा नियुक्ति समिति, सप्तरीको निर्णय अनुसार अनिवार्य कागजात तथा सामग्रीहरू सहित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र, सप्तरीमा सम्पर्क गर्न भनिएको थियो। प्रारम्भमा सो सम्पर्क मिति बुधबार, १४ गते बिहान ८ बजे तोकिएको थियो।

तर, अब उक्त मिति संशोधन गर्दै शनिबार, १७ गते बिहान ८ बजे सोही स्थानमा उपस्थित हुन निर्देशन दिइएको छ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीको निर्वाचन सेलले यस सम्बन्धमा जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय