नेपाल राष्ट्र बैंकले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल तथा उम्मेदवारको छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा चुनावमा हुने खर्च प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था छ । त्यसपछि आयोगले राष्ट्र बैंकलाई पत्राचार गर्दै यसमा सहजीकरण गर्न आग्रह गरेको थियो । सोहीअनुसार सोमबार राष्ट्र बैंकले यस सम्बन्धमा सूचना जारी गरेको हो ।

सूचनाअनुसार निर्वाचन आयोगअन्तर्गतका प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा चुनाव अभियान समूह वा सोही प्रयोजनका लागि खोलिने खातामार्फत नेपाली मुद्रामा आम्दानी खर्च कारोबार गर्न सकिनेछ । यसका लागि प्रत्येक राजनीतिक दल, ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारका नाममा छुट्टै एक मात्र बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले निर्वाचन आयोगले निर्णय गरी बैंक खाता बन्द गर्न नलगाएसम्म ती खाता सञ्चालन गर्न सकिने स्पष्ट पारेको छ । साथै, यस्तो खाताको हकमा राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन, २०८२ को निर्देशन नम्बर २१ अन्तर्गत रहेको ‘प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न नपाइने’ व्यवस्थाबाट अस्थायी छुट प्रदान गरिएको जनाइएको छ । निर्वाचन अभियानका क्रममा हुने खर्च र आम्दानीलाई पारदर्शी, व्यवस्थित र निगरानीयोग्य बनाउन उक्त व्यवस्था गरिएको राष्ट्र बैंकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय