बारा प्रहरीले भन्सार छली गरी ल्याइएका कपडासहित एउटा अटो नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय प्रसौनीले नियमित सवारी साधन चेकजाँचका क्रममा फेला परेका ती कपडाहरू वीरगञ्जबाट कलैयातर्फ लैजाँदै गरिएको प्रहरीले जनाएको छ।
परवानीपुर गाउँपालिका–५ स्थित गण्डक चौकमा शनिबार चेकजाँच भइरहेको बेला पर्साको वीरगञ्जबाट बाराको कलैयातर्फ जाँदै गरेको ना १ ह ४४३७ नम्बरको अटो रोकी जाँच गर्दा विभिन्न किसिमका कपडाहरू भन्सार छलि गरी ल्याइएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय प्रसौनीले जानकारी दिएको छ।



इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख तथा प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार अटोबाट साडी २७ पिस, फ्रक ३५ पिस, बच्चाको भेस्ट ६३ पिस, मोजा २४ पिस, सुट कुर्ता सलवार ६८ पिस, मखमल कपडा २ थान तथा कुर्ति २४ पिस बरामद गरिएको हो। बरामद गरिएका सम्पूर्ण कपडाको जम्मा अन्दाजी बजार मूल्य चौरासी हजार पाँच सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
घटनासँग सम्बन्धित अटो चालक तथा अटोमा सवार दुई जना महिलालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बारा ल्याइएको थियो। प्रारम्भिक अनुसन्धान तथा सोधपुछपछि उनीहरूलाई आवश्यक कागजात संकलन गरी छाडिएको बारा प्रहरीले जनाएको छ।
अटो चालक कपिल देवका अनुसार उक्त कपडा वीरगञ्जबाट कलैयासम्म र्पुयाउने क्रममा अटो प्रहरीले नियन्त्रणमा लिएको हो। ‘वीरगञ्जबाट लोड गरिएको सामान भएकाले यहीँको होला भन्ने लागेको थियो,’ उनले भने,‘यदि भारतबाट भन्सार छली गरी ल्याइएको भन्ने थाहा भएको भए मैले ती सामान लोड नै गर्ने थिइनँ।’
बरामद गरिएका कपडाहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार तथा राजस्व निकायमा बुझाइने तयारी भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो समय सीमा नाकासँग जोडिएका क्षेत्रमा भन्सार छलिका सामानको ओसारपसार बढ्दै गएपछि प्रहरीद्वारा निगरानी र चेकजाँच कडा पारिएको बारा प्रहरीले जानकारी दिएको छ।






