पूर्वपश्चिम लोकमार्ग अन्तर्गत निजगढ नगरपालिका-९ स्थित भमरापुल नजिक ट्रकको ठक्करबाट एक युवक गम्भीर घाइते भएका छन। उक्त घटनामा संलग्न ट्रक चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ।

गत बिहीबार बिहान करिब २ बजे इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको गस्ती टोलीले सडकको दक्षिणतर्फ करिब २० फिट तल रहेको कच्ची बाटोमा एक युवकलाई गम्भीर घाइते तथा वेवारिसे अवस्थामा फेला पारेको थियो। घाइते युवक पर्सा जिल्लाको गमहरिया घर भएका धिरा धामीका छोरा २५ वर्षीय मुकेश चौधरी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चौधरी मानसिक सन्तुलन ठिक नभएको अवस्था रहेको बुझिएको छ।

घाइते चौधरीको बाँया खुट्टाको घुँडामुनि मासुको भाग नरहेको र दायाँ खुट्टाको घुँडामुनि गहिरो तथा गम्भीर चोट लागेको थियो। शरीरका अन्य भागमा समेत सामान्य चोट देखिएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेको कमाण्डमा खटिएको टोलीले तत्काल उद्धार गरी घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल बारा, कलैयामा पठाएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि अवस्था गम्भीर देखिएपछि बिहान करिब ४ बजे नारायणी अस्पताल वीरगञ्ज रिफर गरिएको थियो। नारायणी अस्पतालमा समेत आवश्यक उपचार सम्भव नभएपछि चौधरीलाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। हाल उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको बताइएको छ।

प्रारम्भिक रूपमा घटना के कसरी र कुन सवारीसाधनको ठक्करबाट भएको हो भन्ने विषयमा एकिन हुन सकेको थिएन। त्यसपछि प्रहरीले घटनास्थल वरपरका सिसिटिभी फुटेज संकलन गरी सवारीसाधनको खोजतलास सुरु गरेको थियो। अनुसन्धानका क्रममा ना ८ ख ३९८५ नम्बरको ट्रकले चौधरीलाई ठक्कर दिएको पुष्टि भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

घटनामा संलग्न ट्रक चालक सर्लाही जिल्लाको मलंगवा नगरपालिका- ४ निवासी ३० वर्षीय प्रमोद पण्डित कुमार र सहचालक सोही जिल्लाको बसवरिया नगरपालिका- ३ निवासी १९ वर्षीय राम छबिलाल साहलाई प्रहरीले घटनाको भोलिपल्ट नियन्त्रणमा लिन सफल भएको प्रहरी निरीक्षक लामिछानेले जानकारी दिए।

पक्राउ परेका दुवैजनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय