प्रतिनिधिसभा सदस्यका लागि मङ्गलबार बारा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट सन्तोष दंगालले उम्मेदवारी दर्ता गराएसँगै चुनावी प्रचार–प्रसारलाई तीव्र बनाएका छन। उम्मेदवारी दर्तापछि उनी प्रत्यक्ष रूपमा मतदातासँग संवाद गर्न क्षेत्रमै सक्रिय देखिएका छन।
दंगालले निर्वाचन क्षेत्रको दक्षिणी भेगमा अवस्थित सिम्रौनगढबाट चुनाव लक्षित भेटघाट तथा छलफल कार्यक्रमको सुरुआत गरेका छन। उनले स्थानीय अगुवा, समाजसेवी, युवा, महिला तथा विभिन्न समुदायका मतदातासँग भेटघाट गर्दै आफ्नो चुनावी दृष्टिकोण र विकासका योजना सार्वजनिक गरिरहेका छन।



उम्मेदवारी दर्तासँगै दंगालले बारा–१ को समग्र विकासलाई केन्द्रमा राख्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र भौतिक पूर्वाधारको सुदृढीकरणलाई प्राथमिकतामा राख्ने बताएका छन। उनले विकाससँगै सुशासन, सामाजिक न्याय र समृद्ध समाज निर्माणलाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाएको बताए।
दंगालका अनुसार निर्वाचन क्षेत्रभित्र विद्यमान समस्या समाधानका लागि जनताको प्रत्यक्ष सहभागिता र पारदर्शी नीति आवश्यक छ। ‘जनताको आवश्यकता र चाहनाअनुसार योजना निर्माण र कार्यान्वयन गर्ने मेरो प्रतिबद्धता हो,’ उनले भने।
स्थानीयस्तरमा सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका दंगाललाई यस क्षेत्रका मतदाताले नजिकबाट चिनेको बताइएको छ। त्यसैले बारा क्षेत्र नम्बर १ मा उनलाई बलियो प्रतिस्पर्धीको रूपमा हेरिएको छ।
उम्मेदवारी दर्तापछि दंगालले घरदैलो अभियान, अन्तरक्रिया कार्यक्रम र सार्वजनिक सभामार्फत मतदातासँग थप सघन संवाद गर्ने तयारी गरेको नेकपाले जनाएको छ।






