रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार पुनम देवी यादवले प्रतिनिधि सभा सदस्यका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएकी छिन। उनी कार्यकर्ता तथा समर्थकहरूसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएकी हुन।

स्थानीय तहदेखि सामाजिक गतिविधिमा सक्रिय रहँदै आएकी पुनम देवी रौतहट–३ मा लोकप्रिय नेतृको रूपमा चिनिँदै आएकी छिन। विशेषगरी महिला सशक्तीकरण, सामाजिक न्याय, शिक्षा र स्थानीय समस्याका विषयमा उनको सक्रिय सहभागिता रहँदै आएको छ।

उम्मेदवारी दर्ता गराएपछि पुनम देवीले सामाजिक सञ्जालमार्फत मतदाता तथा समर्थकहरूसँग सहयोग र समर्थनको अपिल गरेकी छिन। उनले आफू व्यक्तिगत रहरका कारण नभई परिस्थितिको बाध्यताले चुनावी मैदानमा उत्रिएको बताएकी छन।

सामाजिक सञ्जालमा लेख्दै पुनमले भनेकी छिन,‘म रहरले होइन, अरुले नगरेर बाध्यताले अघि सरेकी हुँ। अहिले फाट्ने होइन, एक हुने समय हो। राष्ट्र जोगाउन भए पनि मलाई साथ दिनुहोस।’ उनको यो अभिव्यक्तिले स्थानीय स्तरमा चर्चा पाएको छ।

नेपाली कम्युनिस्ट पार्टीले रौतहट–३ मा परिवर्तन, समानता र जनमुखी राजनीतिको एजेन्डा अघि सार्दै पुनम देवीलाई उम्मेदवार बनाएको जनाएको छ। पार्टीका स्थानीय नेताहरूले उनको उम्मेदवारीले आम नागरिक, विशेषगरी महिला, युवा र पिछडिएका समुदायको आवाज सशक्त रूपमा संसदसम्म र्पुयाउने विश्वास व्यक्त गरेका छन।

रौतहट–३ मा उम्मेदवारहरूको प्रतिस्पर्धा तीव्र बन्दै गएको अवस्थामा पुनम देवीको उम्मेदवारीले चुनावी माहोल थप रोचक बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय